माघ १५,काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले सैद्धान्तिक र राजनीतिक रुपमा अझैपनि नेकपा एमाले समस्या बनिरहेको निष्कर्ष निकालेको छ ।
राजधानी काठमाडौंमा आइतबार सुरु भएको दोस्रो केन्द्रीय परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको १६ पृष्ठको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी एमाले अझै मुलुकको समस्या बनिरहेको उल्लेख छ ।
प्रतिवेदनले एमालेलाई प्रतिगामी कित्तामै राखेको छ । ‘पुनरुत्थानवादी, प्रतिगामी तथा पश्चगामी शक्तिहरुको क्रियाकलापहरु र प्रतिपक्षका गतिविधिहरुबाट मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको आभास पाइन्छ’, नेपालले लेखेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई एकीकृत समाजवादीले जनपक्षीय भनेको छ । ‘.. प्रचण्डकै नेतृत्वमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, जनमत र नाउपा सम्मिलित सात दलीय गठबन्धनको सरकार कायम छ । यस सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको छ’, प्रतिवेदनमा उल्लेख छ ।
सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको निष्कर्ष प्रतिवेदनमा छ । सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र लगायतका दलबारे थप केही लेखिएको छैन । तर एमालेप्रति भने अध्यक्ष नेपालले आक्रामक निष्कर्षहरु छलफलका लागि ल्याएका छन् । सैद्धान्तिक, राजनीतिक निर्णय र संगठनात्मक (वाम एकतामै) रुपमै एमाले समस्या रहेको प्रतिवेदनको निष्कर्ष छ ।
‘सत्ताच्यूत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्तै गैरजिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्दत छ’, वर्तमान राजनीतिक परिस्थितिबारे अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् ।
तर गठबन्धन टिकाएर लैजान सत्ता साझेदाहरुबीच आसपी समझदारीमा जोड्न दिनुपर्ने अध्यक्ष नेपालले निष्कर्ष निकालेका छन् । ‘गठबन्धनका दलहरुबीचमा आपसी समझदारीका साथ काम गर्नुपर्दछ भन्नेमा पार्टीले जोड दिन चाहन्छ’, नेपालले लेखेका छन् ।
राष्ट्रियसभाको निर्वाचनकै क्रममा एमालेले सत्ता गठबन्धन तोड्न चाहेपनि सफल हुन नसकेको प्रतिवेदन पेश भएको छ । ‘नेकपा (एमाले) ले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । .. सत्ता गठबन्धनका दलहरु एकजुट भएर उभिन पुगेपछि नेकपा एमालेको प्रयत्न असफल भयो’, प्रतिवेदनमा भनिएको छ ।
तर कोशी प्रदेशबाट एक सिट जितेर एमालेले सत्ता गठबन्धनभित्र समीक्षा गर्नुपर्ने परिस्थिति सिर्जना गरिदिएको अध्यक्ष नेपालको निष्कर्ष छ । सँगै, प्रतिवेदनमा राष्ट्रियसभाको समीकरण फेरिएर एमाले तेस्रो शक्तिमा झरेको खुसियाली लुकेको छैन । ‘यसअघि सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा (एमाले) तेस्रो दर्जामा खुम्चिन पुगेको छ । नेपाली कांग्रेस दोस्रो ठूलो दल बन्न पुगेको छ भने हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) चौथो र जसपा पाँचौ दलमा रहेको छ’, प्रतिवेदनमा लेखिएको छ ।