गैँडाकोट । चितवनका स्रष्टा राजन पौडेल आफ्नो मुक्तकसङ्ग्रह ‘अनिदो मन’ लिएर पाठकमाझ उपस्थित भएका छन् ।
सोमबार सम्पूर्ण किताबको आयोजनामा गैँडाकोटस्थित दी नारायणी रिसोर्टमा गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, स्रष्टाका बुबा देवीप्रसाद पौडेल, प्राध्यापक रमेश प्रभात, सुरेन्द्र अस्तफललगायतले संयुक्तरुपमा कृति विमोचन गरेका हुन् ।
कुल २३० वटा मुक्तक सङ्ग्रहित उक्त कृतिको विमोचनपछि प्राध्यापक प्रभात र अस्तफलले समीक्षात्मक टिप्पणी गरेका थिए । त्यसैगरी उदय अधिकारी, बालकृष्ण थपलिया र गोविन्दराज विनोदीले मन्तव्य राखेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा स्रष्टा पौडेलसँग हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष एवं गजलकार पुष्प अधिकारी ‘अञ्जलि’ले संवाद गरेका थिए । ५० को दशकको अन्त्य र ६० को सुरूवातमा चितवनको साहित्यिक गतिविधिमा सक्रिय रहेका पौडेलसँग अधिकारीले पुराना दिनका सन्दर्भमा रहेर कुराकानी गरेका थिए । सोही क्रममा पौडेलले कृतिमा रहेका मुक्तक वाचन गरेका थिए ।
हाल रोजगारीको सिलसिलामा क्यानडा बसोवास गर्दै आएका पौडेल भरतपुर–८, गौरीगञ्जका स्थायी बासिन्दा हुन् । भरतपुर–७ मा रहेको प्रेमबस्ती माविबाट २०४७ सालमा एसएलसी दिएका पौडेल विद्यालयकालबाटै साहित्य सिर्जनामा सक्रिय थिए । नेपाल रहँदा चितवनसहित देशका विभिन्न ठाउँको साहित्यिक गतिविधिमा सक्रिय पौडेलले विशेषगरी मुक्तक, कविता र गजल लेखनमा रूचि राख्छन् ।
‘गजलपथका यात्रीहरु’ र ‘गजल बिम्ब’ गरी यसअघि २ वटा संयुक्त गजलसङ्ग्रह तथा ‘आधारभूत मत्स्यपालन’ र सहलेखनका रुपमा ‘कार्प’, ‘सिद्रा माछा’, ‘तरकारीको एकीकृत पालन प्रविधि’ गरी ४ वटा कृति उनका प्रकाशित कृति हुन् । कार्यक्रमलाई सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।