गैँडाकोट । गुरुकुल शिक्षाको संरक्षण, संवर्द्धन, गुणस्तरीयता अभिवृद्धि तथा समयानुकूल रूपान्तरण गर्ने उद्देश्यले पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर परिसरमा आयोजित गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन मौलाकालिका संकल्प यात्रा –२०८३ पारित गर्दै सोमबार सम्पन्न भएको छ ।
सम्मेलनले गुरुकुल शिक्षाको संरक्षण, संस्थागत विकास, गुणस्तर अभिवृद्धि र समयानुकूल रूपान्तरणका लागि १३ बुँदे मौलाकालिका संकल्प यात्रा –२०८३ पारित गरेको छ ।
संकल्पपत्रमा गुरुकुलहरूको प्रवर्द्धन र विकासका लागि सामूहिक हितमा एकताबद्ध भएर उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । गुरुकुल शिक्षाको विशिष्ट पहिचान, पौरस्त्य धर्मसंस्कृति र वैदिक परम्पराको संरक्षण गर्दै मौलिकता कायम राखेर आधुनिक आवश्यकताअनुसार अगाडि बढ्ने संकल्प गरिएको छ ।
त्यसैगरी गुरुकुल शिक्षालाई मुलुकको मूलधारमा ल्याउने, थप उत्तरदायी र स्रोतसाधन सम्पन्न बनाउने तथा सरकारको सकारात्मक सदाशयतालाई ग्रहण गर्दै गुरुकुलका चुनौतीहरूलाई एकता र सहकार्यका माध्यमबाट अवसरमा बदल्ने प्रतिबद्धता जनाइएको छ ।
संकल्पपत्रले त्याग, दान, पवित्रता, सेवा, सदाचार र स्वाध्यायलाई गुरुकुल शिक्षाका मार्गदर्शक जीवनमूल्यका रूपमा आत्मसात् गर्ने उल्लेख गरेको छ । साथै व्यक्तिगत ज्ञान, सीप र सकारात्मक सोचको अधिकतम उपयोग गर्दै मेहनत, सामूहिक कार्य र सञ्जाल निर्माण अर्थात् Hard Work, Team Work र Network को संस्कार विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
गुरुकुल शिक्षा प्रणालीमार्फत विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने संस्कृतका योग्य विद्यार्थी उत्पादन गर्न सहभागितामूलक विधिबाट दीर्घकालीन रणनीति तयार गरी गुरुकुल शिक्षा परिषद्का माध्यमबाट अगाडि बढ्ने संकल्पसमेत गरिएको छ ।
गुरुकुलभित्र उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य समस्याहरू संवादका माध्यमबाट समाधान गर्ने, निराशाजनक अभिव्यक्ति तथा संस्कृत र सनातन आस्थामा चोट पुर्याउने गतिविधि नगर्ने प्रतिबद्धता संकल्पपत्रमा समेटिएको छ ।
गुरुकुलको भौतिक सम्पत्तिको संरक्षण, स्रोतसाधन वृद्धि र प्रभावकारी परिचालनका लागि सम्बन्धित सरोकारवालासमक्ष निरन्तर पहल गर्ने तथा आफ्ना बानी, व्यवहार र कार्यशैलीमा समेत सुधार गर्दै जाने विषयलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै, गुरुकुल परिसरलाई सफा, स्वच्छ र हराभरा बनाउने, सुन्दर भवन, व्यवस्थित कक्षाकोठा तथा शिष्ट र सभ्य कार्यकर्ताको पहिचान स्थापित गर्ने संकल्प गरिएको छ । योग्य गुरुबाट योग्य शिष्य निर्माण हुने शास्त्रीय मान्यतालाई आत्मसात् गर्दै शिक्षकहरूले विद्यार्थीको उज्ज्वल भविष्यप्रति स्नेह र करुणाभाव राखेर अध्यापन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
गुरुकुलमा कार्यरत जनशक्तिको ज्ञान, सीप र सकारात्मक सोच अभिवृद्धिका लागि क्षमता विकासका कार्यक्रम नियमित सञ्चालन गर्ने तथा प्राज्ञिक, प्रशासनिक र व्यवस्थापनसम्बन्धी जनशक्तिको क्षमता विकासमा नेपाल संस्कृत विश्वविद्यालयको ध्यानाकर्षण गराउने विषयसमेत संकल्पपत्रमा समावेश गरिएको छ ।
सम्मेलनमा सहभागी गुरुकुलका सञ्चालक, पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकहरूले मौलाकालिका माताको चरणमा साष्टाङ्ग दण्डवत् गर्दै हस्ताक्षर गरी जारी गरेको संकल्पपत्रले गुरुकुल शिक्षाको भावी विकासका लागि साझा मार्गचित्र प्रदान गर्ने अपेक्षा गरिएको छ ।
गुरुकुल शिक्षालाई केवल परम्परागत शिक्षण पद्धतिका रूपमा मात्र नभई नैतिकता, सदाचार, चरित्र निर्माण, आध्यात्मिक चेतना र मानवीय मूल्यको विकास गर्ने महत्वपूर्ण शैक्षिक प्रणालीका रूपमा स्थापित गर्न सम्मेलनले साझा प्रतिबद्धता निर्माण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नवलपरासी निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद माननीय राजन गौतमले पनि मौलाकालिका संकल्प यात्रा –२०८३मा हस्ताक्षरमा गर्नुभएको छ ।
सम्मेलनमा गुरुकुलकाे मुल प्रवाहीकरण संरक्षण र संबर्धन सम्बन्धि ४ वटा कार्यपत्र र ४ वटा कार्यशालमा विचारविमर्श भएकाे थियाे । सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. माधवशरण उपाध्यायले गुरुकुलीन शिक्षा पद्धति, पाठ्यक्रम संरचना र समसामयिक व्यवस्थापन, विश्व विद्यालय विद्यापीठका प्राडा गुरुप्रसाद सुवेदीद्वारा गुरुकुल शिक्षाकाे प्राचिन स्वरुप वर्तमान अवस्था र गन्तव्य ने.सं.वि, कालिका संस्कृत विद्यापीठ सह प्रा. डा. रामचन्द्र कण्डेलद्वारा गण्डकी प्रदेशका गुरुकुलहरूको विद्यमान अवस्था, चुनौती र अवसरहरू, डा. समन्तमणि आचार्यद्वारा प्रस्तुत नेपालमा गुरुकुल शिक्षाको मूलप्रवाहीकरण विषयक कार्यपत्रमा विचारविमर्श भएकाे थियाे ।
धार्मिक सेवा समिति माैलाकालिका मन्दिरका अध्यक्ष खगेन्द्रदास कंडेल खगराजको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तव्य माैलाकालिका संस्कृत गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष शाेभानाथ गाैंडेलले गर्नुभएकाे थियाे । कार्यक्रमकाे सहजीकरण मुल आयाेजक समितिका सदस्य सचिव डा रामचन्द्र कंडेलले गर्नुभएकाे थियाे ।
नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना, गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोग, मौलाकालिका धार्मिक सेवा समिति गैँडाकोटको सहकार्य तथा मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुलम्) को व्यवस्थापनमा कार्तिक २८, २९ र ३० गते तीन दिनसम्म सम्मेलन सञ्चालन भएको हो ।









