चितवन । चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार यस अवधिमा ८८६ जनाको नमुना परीक्षण गर्दा ९२ जनामा डेङ्गु संक्रमण देखिएको हो । संक्रमितमध्ये ७८ जना चितवनका रहेका छन् भने बाँकी अन्य जिल्लाका रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाभित्र सबैभन्दा बढी डेङ्गु संक्रमण रत्ननगर नगरपालिकामा देखिएको छ । रत्ननगरमा ३० जना संक्रमित भेटिएका छन् । त्यस्तै, सबैभन्दा कम कालिका नगरपालिकामा दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच, जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १९१ जनामा स्क्रब टाइफस संक्रमणसमेत पुष्टि भएको छ ।








