spot_img

Thursday, July 23, 2026

मनसुन अवधिभर विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम प्राधिकरणको आग्रह

साउन ७, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्वसावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन भनेको छ । यस्तै, बर्षाको बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन भनिएको छ ।

ठूलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला, खोल्सा, तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचनामार्फत अनुरोध गरेको छ ।वर्षा भइरहेको समयमा काठ दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रुपमा आवतजावत नगर्न प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।

जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटा, भिडियो नखिच्न, पैदलयात्रा तथा ‘हाइकिङ’मा सकेसम्म एक्लै नजान र विपद्को सङ्केत देखिएमा सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई सम्पर्क गर्न भनिएको छ

अफवाहको पछाडि नलाग्न, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न, मौसम र विपद्बारेको आधिकारिक सूचना नियमित सुन्न एवम् हेर्न सचेत गराइएको छ । विपद्सम्बन्धी सूचना एवम् उद्धारका लागि १२३४, १०० र १११४ र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :