काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको हो ।
नेपालदूरसञ्चार प्राधिकरणको सञ्चालक समितिका केही पदाधिकारीहरूलाई दोषी ठहर गर्दै विशेष अदालतले मन्त्रालयको नेतृत्वलाई सफाइ दिएको हो ।अख्तियारले टेरामक्स खरिदमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि १ जेठ, २०८२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
मन्त्री बस्नेतका साथै भ्रष्टाचारको आरोप खेपिरहेका प्राधिकरणका सबै कर्मचारीहरूले सफाइ पाएका छन् । विशेष अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, सञ्चालक समितिका सदस्य एवं कानुन मन्त्रालयका सहसचिव(पछि सचिवबाट अवकाश) धनराज ज्ञवाली र अर्का सञ्चालक टीकाप्रसाद उप्रेतीलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतले उनीहरू तीन जनालाई ६ महिनाका दरले कैद र ५० हजार रुपैयाँका दरले जरिबाना गर्ने फैसला गरेको हो । दिगम्बर झालाई भने थप छ महिना कैद सजाय भएको छ । किनभने नेपाल सरकारको विशिष्ट श्रेणी वा त्यो सरहका पदाधिकारीमाथि भ्रष्टाचारको आरोप पुष्टि भए थप एक वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ ।
प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झामाथि कानुनी पूर्वाधार तयार नभएको अवस्थामा टेरामक्स लागू गर्न खोजेको आरोप छ । खरिदको निर्णय हुनुभन्दा पहिले भएको अध्ययनले कानुन बनेपछि मात्रै नागरिकको कल आदानप्रदान तथा डेटा खपतबारे अनुगमन गर्न सकिने राय दिएका थिए ।
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालसहित कर्मचारीहरू अच्यूतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, दीपेश आचार्यलाई सफाइ दिएको छ । अख्तियारले प्राधिकरणका अर्का अध्यक्ष पुरुषोत्तम खनालमाथि विद्युतीय खरिद प्रणाली अपनाएको, सामान खरिदको कार्यविधि अघि बढाउनुपर्नेमा परामर्श सेवा भनी सामान खरिद गरेको लगायतका आरोप लगाएको थियो ।
त्यसै गरी कर्मचारीहरू सुरेश बस्नेत, हिरण्य बस्ताकोटी, सन्दीप अधिकारी ठेकेदार कम्पनी भेन्राईज सोलुसन र त्यसका सञ्चालनले सफाइ पाएका छन् । ठेकेदार कम्पनीको नेपाल एजेन्ट रहेको कम्पनी कनेक्सन ट्रेड लिंकका अध्यक्ष दिलीप कुमार गुरुङ र त्यसका निर्देशक तेजप्रसाद खरेलले पनि सफाइ पाएका छन् ।






