नयाँ दिल्ली। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबिच दिल्लीमा भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहनुभएका सभापति लामिछाने विदेशमन्त्री डा. जयशङ्करबिच आज भएको भेटवार्ता गर्नुभएको हो । सभापित लामिछानेसँगको भेटमा आपसी हित, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ । भेटवार्तापछि सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत धारणा सार्वजनिक गर्दै भारतीय विदेशमन्त्री डा. जयशङ्करले रास्वपा सभापति लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । उहाँले दुई देशबिचको विकास साझेदारी र जनस्तरको गहिरो सम्बन्धले यस क्षेत्रको विकास र समृद्धिलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नेतृत्वमा पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरालगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।





