जेठ २ ,काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘डिजिटल फ्रेमवर्क’को उद्देश्य पूरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताउनुभएको छ ।
क्यान फेडरेसनले आयोजना गरेको ‘मल्टि स्टेकहोल्डर डिस्कसन अन डिजिटल नेपाल फ्रेमवर्क २.० एन्ड वे फर्वाड’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक एप सञ्चालनमा आए पनि प्रयोग गर्ने साक्षरतामा कमी रहेको बताउनुभयो । “डिजिटल फे्रमवर्क साकार पार्न डिजिटल साक्षरता आवश्यक छ, हामीले साक्षरता पनि सँगै लैजानुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो ।
उहाँले डिजिटल पूर्वाधार निर्माण र आवश्यक नीति बनाउने मुख्य दायित्वसमेत सरकारको रहेको प्रष्ट पार्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङका अनुसार डिजिटल नेपाल फ्रेमवर्क २.० सोह्रौँ योजनासँग समेत अनुकूलन हुनेगरी तयार गरिएको र यसले डिजिटल आधारस्तम्भलाई जोड दिई कनेक्टिभिटी, प्राविधिक सीप, डाटा एकीकरण र साइबर सुरक्षाजस्ता आधारभूत पक्षहरूलाई सुदृढ बनाउने लक्ष्य लिएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।
सञ्चारसचिव राधिका अर्यालले सरकारको पहिलो डिजिटल फ्रेमवर्कको अनुभवले सुधार गर्दै डिजिटल फेमवर्क २.० मस्यौदा तयार पारिएको बताउनुभयो । निजी क्षेत्रले आवश्यक सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।
क्यान फेडरेसनका अध्यक्ष सुनैना घिमिरे पाण्डेले अबको युग डिजिटल युग भएकाले सरकारले यस क्षेत्रलाई नीतिगतसँगै आर्थिक लगानीको प्राथमिकतामा जोड दिनुपर्ने बताउनुभयो ।