single head

गैँडाकोट–१२ मालपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ सम्पन्न

single post top 1

गैँडाकोट । नेपालको कृषि संस्कृतिसँग जोडिएको असार १५ अर्थात् राष्ट्रिय धान दिवस धान खेतीको महत्व उजागर गर्दै किसानप्रति सम्मान व्यक्त गर्ने दिनका रूपमा मनाइन्छ । विक्रम सम्बत् २०६१ मङ्सिर २९ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष “जलवायुमैत्री प्रविधिः धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरि धान दिवश मनाइएको छ ।
२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव २०८३ का अवसरमा गैँडाकोट नगरपालिका–१२ मालपुर (भेडाबारी) मा हर्षोल्लासका साथ धान रोपाइँ महोत्सव मनाइएको छ ।

single p1


आत्मनिर्भर कृषक समूह गैँडाकोट–१२ को आयोजनामा सोमबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, कृषक तथा स्थानीयवासी पञ्चेबाजाको तालमा रमाउँदै सामूहिक रूपमा धान रोपाइँमा सहभागी भएका थिए । धान जोन क्षेत्रका किसानहरूले विशेष उत्साहका साथ रोपाइँ गरेका थिए भने थारु समुदायका कृषकहरूले आफ्नै असारे भाकामा गीत गाउँदै परम्परागत शैलीमा धान रोपेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
कार्यक्रमका क्रममा हिलोमा दौडेर हाँस छोप्ने प्रतियोगितासमेत आयोजना गरिएको थियो, जसले सहभागीहरूलाई मनोरञ्जनका साथै असार १५ को मौलिक संस्कृति झल्काएको थियो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले धान उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार र कृषि उपजको बजारीकरणमा नगरपालिका सधैँ किसानसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्षेत्रमार्फत गैँडाकोटलाई थप सक्षम र आत्मनिर्भर बनाइने उहाँको भनाइ थियो ।
कार्यक्रममा वडा नम्बर–१२ का वडाध्यक्ष चक्रपाणी कँडेलले स्वागत मन्तव्य व्यक्त गर्दै कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालनमा वडा कार्यालय प्रतिबद्ध रहेको र कृषिनै गैँडाकोटको समृद्धिको आधार भएको बताउनुभयो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले गैँडाकोट धान उत्पादनमा आत्मनिर्भर बन्दै निर्यात गर्न सक्ने सम्भावना भएको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि र किसानलाई आवश्यक सहजीकरणका लागि प्रशासनबाट सहयोग रहने बताउनुभयो ।

single p2


आत्मनिर्भर कृषक समूहकी अध्यक्ष जितकुमारी थनेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैँडाकोट नगरपालिका कृषि विकास शाखा, कृषि विकास कार्यालय कावासोती तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ, कावासोतीको आर्थिक सहयोग रहेको थियो ।
कार्यक्रमको सहजीकरण गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजु शर्माले गर्नुभएको थियो । उहाँले जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै जलवायु अनुकूल खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा गैँडाकोटका उपप्रमुख शान्ति कोइराला, नगरकार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी तथा कृषकहरूले खेतमै सामूहिक रूपमा धान रोप्दै दही–चिउरा खाएर पर्व मनाएका थिए । नगरका विभिन्न स्थानमा असारे भाका गाउँदै, हिलो खेल्दै र सामूहिक रूपमा दही–चिउरा खाएर असार १५ को पर्व धुमधामका साथ मनाइएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3