spot_img

Tuesday, September 10, 2024

दुई दलीय शासनतिर देशलाई लान खोजिएको छ – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल

भदौ १९,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले देशलाई दुई दलीय शासनतिर लान खोजिएको बताउनुभएको अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले पार्टी कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्दै पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिनुभयो । त्यस्तै संसदमा माओवादी केन्द्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि दाहालले जोड दिनुभएको उहाँको भनाइ छ ।

बैठकमा अध्यक्ष प्रचण्डले भन्नुभयो, “भूराजनीतिक स्थितिले गर्दाखेरी राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको छ । राष्ट्रियता, जनजिविकाका सवालहरू दिन प्रतिदिन पेचिलो बन्दै गएका छन् । यस्तो परिस्थितिमा हामीले नयाँ विचारको विकास गर्दै यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्ने । जनताका समस्याहरूको तथ्याङ्क सङ्कलन गर्ने । सदनलाई प्रभावकारी बनाउने । अन्तरक्रिया छलफल गर्ने । सरकारले पहिलेका सरकारले गरेका सुशासन, समृद्धिका कुराहरूलाई उल्ट्याउने खालको स्थिति बनाइरहेको छ । अब जनताको हक अधिकार खोसिने आशङ्का भएको छ । जनतामा आक्रोश पनि बढिरहेको छ । जनता सरकारका क्रियाकलाप, रवैयाप्रति असन्तुष्ट हुँदै गएको छ ।”

उहाँले भन्नुभयो, “दुई दलीय शासनतिर देशलाई लान खोजिएको छ । त्यसले अधिनायकवादतिर लाने सङ्केत देखा परेको छ । पश्चगमनतिर जान खोजेको छ । त्यसलाई रोक्नका लागि जनतालाई सुसूचित गर्नुपर्छ । प्रशिक्षित गर्नुपर्छ । पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ ।”

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार