spot_img

Sunday, July 14, 2024

गैंडाकोट नगरपालिकाको आर्थिक वर्ष २०८१/ ८२ का लागि एक अर्ब १ करोड ६७ लाख ९९ हजार ९९९ रुपैया बजेट विनियोजन

असार ७ गैडाकोट । आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि एक अर्ब १ करोड ६७ लाख ९९ हजार ९९९ रुपैया बराबरको बजेट विनियोजन भएको छ।

गैडाकोट नगरपालिकाको १५ औँ अधिवेशनमा गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले शुक्रबार नगरपालिकाको सभा हलमा आयोजित नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो।

बजेटमा कुल विनियोजनमध्ये चालु खर्च रु ६१ करोड १९ लाख ६६ हजार र कुल विनियोजनमध्ये पुजीगत खर्च रु ४० करोड ४८ लाख ३३ हजार रुपैयाँ रहेको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सञ्चित कोष र अन्य स्रोतहरूबाट रु ५ करोड ७१ लाख, आन्तरिक राजस्वबाट रु १९ करोड ५३ लाख ७० हजार, संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट रु १५ करोड ८८ लाख ६४ हजार र अन्तरसरकारी वित्तीय हस्तान्तरण र अन्तरसरकारी अख्तियारबाट रु ५८ करोड ४६ लाख ३० हजार बेहोरिने प्रस्तुत बजेटमा जनाइएको छ।

आर्थिक गतिविधि एवं विकास निर्माणलाई तीव्रता दिने र नगरपालिकाबाट प्रवाह गरिने सेवालाई छरितो सहज प्रविधिमैत्री पारदर्शी र पहुँच योग्य बनाउने उद्देश्य लिएको भनिएको बजेटमा सुशासन र प्रविधि मैत्री सेवा प्रवाह, सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, कृषि क्षेत्रको आधुनिककरण व्यवसायिकरण र बजारीकरण, भौतिक पूर्वाधारको विकास, विपद व्यवस्थापन, पर्यटन प्रवर्द्धन, रोजगारी सृजना र गरिबी न्यूनीकरण एवं राजस्व परिचालन जस्ता विषयहरूलाई बजेटको उद्देश्य हासिल गर्ने प्राथमिकताहरूका रूपमा निर्धारण गरिएको छ।

बजेटले सामाजिक विकासतर्फ आधारभूत सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने ९८ प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउनका लागि रु ३५ लाख रुपैयाँ विनियोजन गरेको छ। निःशुल्क शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयनका लागि सामुदायिक विद्यालय अन्तर्गत कक्षा ५ सम्म निःशुल्क गर्न नगरपालिकाले रु १ करोड ५० लाख विनियोजन गरेको छ।

प्रस्तुत बजेटमा पूर्वाधार विकासतर्फ वडा नम्बर ३, १४ र १८ लाई ८० लाख र अन्य सबै वडाहरूलाई रु ७० लाखका दरले बजेट छुट्याइएको छ, जसका लागि कुल १२ करोड ९० लाख रुपियाँ विनियोजन गरिएको छ।

यसैगरी न्यायिक सचेतना लगायतका कार्यक्रमहरू सञ्चालन गर्न न्यायिक समितिको लागि रु २५ लाख विनियोजन गरिएको छ। नगर प्रहरी व्यवस्थापनसहित नगर कार्यपालिकाको कार्यालय लगायत १८ वटा कार्यालयहरू सञ्चालन तथा जनशक्ति परिचालन गर्न आगामी आर्थिक वर्षको लागि कार्यालयको प्रशासनिक खर्चका जम्मा १७ करोड ३ लाख रुपैयाँ विनियोजनको प्रस्ताव गरिएको छ ।

यसैगरी राजस्व सम्बन्धी नीति अन्तर्गत वडा कार्यालयहरूबाट हुने खरिद प्रक्रियालाई पूर्णरूपमा निषेध गरी एकद्वारा प्रणाली मार्फत नगरपालिकाबाट मात्र खरिद गर्ने गरी प्रबन्ध मिलाइएको बजेटमा उल्लेख गरिएको छ। यसैगरी शुक्रबार नै गैँडाकोट नगरपालिकाको नगरसभाले आर्थिक ऐन २०८१ पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार