जेठ ७ ,काठमाडौँ । वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० वैशाखको तुलनामा २०८१ को वैशाखमा सिप सिकेर, दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत वैशाखमा दक्ष भएर जानेको सङ्ख्या ६९ प्रतिशत रहेकोमा गएको वैशाख ७४ प्रतिशत पुगेको छ ।
गएको वैशाख महिनामा ७० हजार ६३७ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५२ हजार १७७ जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । गत वैशाख महिनामा ५४ हजार ४५७ जनाले श्रम स्वीकृति लिएर गएकोमा ३७ हजार ९९१ जना दक्ष भएर गएको विभागले जनाएको छ ।
विभागका अनुसार गएको वैशाखमा श्रम स्वीकृति लिएर विदेश गएकोमा उच्च दक्ष र व्यवसायी भिसामा श्रम स्वीकृति लिएर विदेश जाने ४४४ जना (०.६२ प्रतिशत) अर्धदक्ष भएर जाने पाँच हजार ४२० जना (७.६७ प्रतिशत) र अदक्ष १२ हजार ६१६ जना (१७.८६ प्रतिशत) रहेका छन् ।
गत वर्षको वैशाखमा श्रम स्वीकृति लिएर गएका ५४ हजार ४५७ गएकोमा उच्च दक्ष र व्यावसायिक १०८ जना (०.१९ प्रतिशत), अर्धदक्ष चार ९१५ (९.०२ प्रतिशत) अदक्ष ११ हजार ४४३ (२२ प्रतिशत) रहेको थियो ।