गैँडाकोट । काठमाण्डौँमा जारी विश्व सामाजिक मञ्चमा विजय विकास स्रोत केन्द्रले आफ्नो ४५ वर्षको यात्रालाई प्रस्तुत गरेको छ । विजय विकास स्रोत केन्द्रको स्टलमा शुक्रबारसम्म २ हजार बढीले अवलोकन गरेका छन् । विजय विकास स्रोत केन्द्र र यस संस्थाद्वारा प्रवर्धित विजय परिवारका अन्य संस्थाका गतिविधिका बारेमा अवलोकन कर्ताले चासोपूर्वक अध्ययन अवलोकन गरेका छन् । विश्व सामाजिक मञ्च २०२४ नेपालमा पहिलो पटक आयोजना गरिएको हो । हिजोदेखि काठमाडौँमा सुरू भएको विश्व सामाजिक मञ्चमा श्रमिकका मुद्दाहरु, सामाजिक सुरक्षा, लैगिक, किसान र जलवायु परिवर्तन लगायतका विषयहरूमा छलफल भएका छन् । शुक्रबार जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल भएको छ । अर्को विश्व सम्भव छ भन्ने सन्देश सहित विश्व सामाजिक मञ्चको सम्मेलनको आयोजना भएको हो ।
सदाचार, सामाजिक न्याय र रूपान्तरणको अभियानमा क्रियाशील नागरिक संस्था विजय विकास स्रोत केन्द्रले आफ्नो ४५ वर्षको गर्विलो यात्रालाई जीवन गंगाको रुपमा प्रस्तुत गरेको विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले बताउनुभयो ।
यही कार्यक्रम अन्तर्गत शनिबार दिउँसो २ बजेदेखि विजय विकास स्रोत केन्द्रको सहजीकरणमा “सामाजिक न्याय र नागरिक सहभागिताको स्थानीयकरण” विषयक संवाद कार्यक्रम हुने भएको छ । यस कार्यक्रममा सर्वोच्च अदालतकी पूर्व प्रधान न्यायाधीश शुशिला कार्की, सतर्क नागरिक संगठन भारतका संस्थापक अञ्जली भारद्वाज, द स्टोरी किचनका अध्यक्ष जया लुईँटेल, विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटा वक्ताको रुपमा रहनुभएको छ । Damien फाउण्डेसन बेल्जियमका, कन्ट्री डाइरेक्टर डा. शुशिल कोइरालाको मध्यस्थकर्ताको भूमिका रहनेछ । काठमाण्डौ, प्रदर्शनी मार्ग स्थित नेपाल ल क्याम्पसको (कोठा नम्बर १०४, ब्लक सी, पहिलो तला) मा कार्यक्रम हुनेछ । सामाजिक विकास र रुपान्तरणका सम्पूर्ण अभियन्ता, अभ्यासकर्ता र इच्छुक व्यक्तिहरुको उपस्थिति रहने विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले बताउनुभयो ।
कमेन्ट :