नवलपुर । पर्यटन, कृषि, उद्योगमा सहभागिता, समृद्ध नवलपुरका लागि नवौँ महोत्सवको उपयोगिता भन्ने मूल नारासहित नवौँ नवलपुर महोत्सव आजदेखि सुरु भएको छ। उद्योग वाणिज्य संघ नवलपुरको भवन निर्माणार्थको आयोजना गरिएको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठले गर्नुभएको थियो । कावासोती नगरपालिका–२ स्थित भाट्टोलाको खुला मञ्चमा सुरु भएको महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले महोत्सवको उद्देश्य, स्थानीय उद्योग–व्यवसायको प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तारका विषयलाई जोड दिनुभयको थियो।
कात्तिक २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ५० वटा स्टल रहनेछन् भने महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, कृषि तथा पर्यटन क्षेत्रको विकास र व्यापारिक गतिविधि विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष बुद्धिसागर पोखरेले बताउनुभयो । उहाँले संघमा दर्ता भएका व्यवसायीलाई स्टल भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको र बाढी प्रभावित क्षेत्रबाट आउने व्यवसायीलाई समेत विशेष छुट प्रदान गरिने बताउनुभयो। साथै अध्यक्ष पोखरेलले स्थानीय उद्योगी तथा व्यवसायीलाई महोत्सवमा सहभागी भई आफ्ना उत्पादन तथा सेवाको प्रचारप्रसार गर्न आह्वान गर्नुभयो ।
उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य राजन गौतम र मनिष खनाल, संविधानसभा सदस्य कृष्ण पौडेल तथा जीवनकुमार श्रेष्ठ, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्यहरू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य तथा पूर्व प्रतिनिधिसभा सदस्य डा. शशाङ्क कोइराला लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको थियो।कावासोती नगरपालिकाको संरक्षणमा आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको विकास, कृषि तथा पर्यटन क्षेत्रको प्रवद्र्धन र जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।









