गैँडाकोट । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैँडाकोटका नागरिकलाई लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेशनको सहयोग (EMR29331-325R) मा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आर नेपालले खाना खुवाएको छ।
गत असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण गैँडाकोट नगरपालिका वडा नं। २ स्थित नारायणी नदी किनारको बाटे टोल पूर्ण रूपमा डुबानमा परेको थियो। डुबानपछि घरबारविहीन बनेका प्रभावितहरूलाई सुरक्षित स्थानका रूपमा श्रीराम पार्टी प्यालेस र श्री महेन्द्र स्मारक आधारभूत विद्यालयमा स्थानान्तरण गरी राखिएको हो। ती दुवै स्थानमा आश्रय लिइरहेका बाटे टोलका २०० भन्दा बढी घरधुरीलाई असोज १३ गते बेलुका र असोज १४ गते बिहानको खाना खुवाइएको डिस्ट्रिक्ट ३२५ आर नेपालका डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले जानकारी दिनुभयो।
गभर्नर पण्डितका अनुसार बाढी प्रभावितका लागि खानाको साथै आगामी दिनमा आवश्यक खाद्यान्न, खाना पकाउने भाँडाकुडा, ओढ्ने–ओछ्याउने कपडा र पिउने पानी शुद्धीकरणका सामग्रीहरू लगायतका आवश्यकिय सामाग्रीहरु उपलब्ध गराइनेछ।
खाना वितरण कार्यक्रममा डिस्ट्रिक्ट ३२५ आरका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर दीपेन्द्रप्रसाद खतिवडा, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर कमलप्रसाद श्रेष्ठ, पूर्व डिस्ट्रिक्ट गभर्नरद्वय दिनानाथ न्यौपाने र रामप्रसाद भट्टलगायत विभिन्न लायन्स नेतृत्व तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।









