गैंडाकोट। (गोबिन्द रिमाल)। गैंडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरभित्र रहेका ९० जना मातृविहीन बालबालिकालाई मेयर छात्रवृत्ति कार्यक्रम अन्तर्गत सहयोग प्रदान गरिएको छ ।
गैंडाकोट नगरपालिकाको सभा हलमा सम्पन्न सो कार्यक्रममा कक्षा १-५ अध्ययन गर्ने २० जनालाई जनही ५ हजार, कक्षा ६-८ पढ्ने ३२ जनालाई जनही ६ हजार र कक्षा ९-१२ पढ्ने ३८ जनालाई ७ हजारका दरले छात्रवृत्ति सहयोग अन्तर्गत नगद रकम प्रदान गरिएको जानकारी शिक्षा शाखाका अधिकृत रामप्रसाद अधिकारीले दिनुभयो ।
.jpg)
कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले नगरपालिकाले असहाय मातृविहीन विद्यार्थीहरू शिक्षाको उज्यालो घामबाट विमुख हुन नपरोस् भनेर यस्तो कार्यक्रम सन्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले मातृविहीन विद्यार्थीलाई संरक्षकत्व प्रदान गर्ने अभिभावकले प्राप्त रकमलाई सदुपयोग गरी विद्यार्थीको शैक्षिक उन्नयनमा खर्चिन आग्रह गर्नुभयो । उहाँले नगरभित्रका सबै बालबालिकालाई शिक्षा प्राप्त गर्ने अधिकार भएको र यस किसिमको कार्यक्रमले मातृविहीन बालबालिकालाई हौसला वृद्धि गर्ने हुनाले आगामी दिनमा पनि नियमितता दिने बताउनुभयो ।

नेपाल शिक्षक महासंघका नगर अध्यक्ष शिवराज काफ्लेको उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।





