spot_img

Thursday, June 25, 2026

गैंडाकोट–८ ले एडभान्स सिलाइकटाई तथा ब्युटीपार्लर सम्बन्धी सीप विकास तालिम सम्पन्न

गैँडाकोट। गैँडाकोट नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालन गरिएको एडभान्स सिलाइकटाई तथा ब्युटीपार्लर सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम बिहीबार स्थित कृषि सहकारी संस्था भवनमा गरिएको हो।

“आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार“ भन्ने नारासहित वैशाख १२ गतेदेखि असार १० गतेसम्म सञ्चालन भएको उक्त तालिमले सहभागी महिलाहरूलाई उन्नत सिलाइकटाई तथा ब्युटीपार्लर सम्बन्धी व्यावसायिक सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशीलता विकासमा टेवा पु¥याउने उद्देश्य राखेको थियो।

नगरपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जना गरी महिलाहरूको आर्थिक सशक्तीकरणमा योगदान पु¥याउने लक्ष्यका साथ तालिम सञ्चालन गरेको जनाएको छ। तालिम समापन कार्यक्रममा प्रशिक्षकद्वय सोनम चौधरी र संगीता आचार्यलाई सम्मान गरिएको थियो भने तालिम सफलतापूर्वक पूरा गरेका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटाले तालिमबाट सहभागीहरूले व्यवहारिक सीप हासिल गरी व्यवसायतर्फ उन्मुख भएको देख्दा खुसी लागेको बताउनुभयो। उहाँले सम्पूर्ण नेपाली नागरिकले तिरेको कर तथा सरकारी अनुदानबाट यस्ता कार्यक्रम सञ्चालन हुने भएकाले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

तालिमले गैँडाकोट वडा नं. १ देखि ९ सम्मका महिलाहरूलाई आयआर्जनको नयाँ अवसर प्रदान गरेको उल्लेख गर्दै उहाँले सीपलाई व्यवसायमा रूपान्तरण गरी आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। साथै, आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै सम्भव भएसम्म सहुलियत दिन पनि प्रशिक्षार्थीहरूलाई अनुरोध गर्नुभयो।

वडाध्यक्ष सापकोटाले आगामी आर्थिक वर्षमा पनि वडा कार्यालय सक्रिय रूपमा सहभागी भई स्थानीय बासिन्दालाई आत्मनिर्भर र दक्ष बनाउने उद्देश्यले यस्ता उद्यम विकास तथा सीपमूलक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले दुई महिने तालिम सफलतापूर्वक सम्पन्न भई प्रशिक्षार्थीहरू व्यवसायमा संलग्न हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले तालिमको प्रभावकारिता, उपलब्धि तथा सहभागीहरूको व्यवसायिक अवस्थाबारे आगामी दिनमा अनुगमन (फलोअप) गरिने जानकारी दिनुभयो।

उहाँले स्वरोजगार सिर्जना र महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले रोजगार शाखा तथा आर्थिक विकास शाखासँग समन्वय गरी आगामी आर्थिक वर्षमा पनि विभिन्न उद्यम विकास तालिम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो। यस्ता तालिमले उत्पादनको व्यवसायीकरण र बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कृषि सहकारी संस्थाका अध्यक्ष ढकबहादुर कार्कीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

उहाँले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरूले आफ्नै व्यवसाय सञ्चालन गरी सहज रूपमा जीविकोपार्जन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। साथै, नगरपालिकाबाट प्राप्त अनुदानको प्रभावकारी सदुपयोग गर्दै स्थानीय उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।प्रतिमा सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन कमला अधिकारीले गर्नुभएको थियो। गैंडाकोट नगरपालिकाले यस्ता सीपमूलक तथा उद्यम विकास कार्यक्रममार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना, उद्यमशीलताको विकास र आयआर्जनका अवसर विस्तार गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :