spot_img

Sunday, March 29, 2026

गैँडाकोट-९ स्थित श्रीहनुमान मन्दिरमा बिभिन्न कार्यक्रम गरि हनुमान जयन्ती मनाइदै / हनुमानलाई ५१ किलोको लड्डु अर्पण गरिने

गैँडाकोट । नवलपुरको गैँडाकोट-९ स्थित चक्रघाटमा रहेको श्रीहनुमान मन्दिरमा यस वर्षको श्रीहनुमान जयन्ती भव्य रूपमा मनाइने भएको छ ।नेपालकै एकमात्रै शिखरखजुराव शैलीको यस मन्दिरमा चैत १९ गते परेको चैत्र शुक्लपूर्णिमा अर्थात हनुमान जयन्तीको अवसरमा रामभक्त हनुमानलाई ५१ किलोको लड्डु अर्पण गर्न लागिएको हो ।

हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष लिलाधर कँडेलले हनुमान जयन्तीलाई भव्यरुपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । हनुमान जयन्तीका अवसरमा मन्दिर परिसारमा १२ घण्टे अखण्ड श्रीहरिनामसङ्कीर्तन, लक्ष्यदीप प्रज्ज्वलन, हनुमान चालीसा पाठपरायण, वैदिक विधिअनुसार श्रीहनुमत पूजन, विशेष सन्ध्या आरती लगायतका कार्यक्रम आयोजना गरिएको कँडेलले बताउनुभयो  । दैनिक नित्य पूजा हुने यस मन्दिरमा हनुमान जयन्तीका दिन बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म विभिन्न कार्यक्रम रहेको कँडेलको भनाइ छ ।

गैँडाकोट–९ मा अवस्थित यस मन्दिर विसं २०४२ चैत ३० गते स्थापना भएको थियो । १८ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यस मन्दिरले जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको मन्दिरका सचिव उमाकुमारी पाण्डेले बताउनुभयो  । तीन तहका सरकारबाट रु ६३ लाख र विभिन्न दाताहरुको साढे दुई करोड रुपैयाँ चन्दा सहयोगमा ४२ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ भएको शिखरखजुरावशैलीको हनुमान मन्दिर निर्माण गरिएको हो । पुरानो मन्दिर रहेको स्थानमा विसं २०७९ वैशाख ३ गते मन्दिर निर्माण गरी मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो ।

मन्दिरमा अहिले दैनिक रुपमा भारतीय तथा नेपाली धार्मिक पर्यटकहरु आउने गरेका मन्दिरका सचिव पाण्डेको भनाइ छ । उहाँकाअनुसार अहिले मन्दिरमा उल्लेख्य आन्तरिक तथा दैनिक १२ वटासम्म गाडीमा भारतीय पर्यटक आउने गरेका छन् । मन्दिरमा विशेष गरी शनिबार र मङ्गलबार धार्मिक पर्यटकहरुको विशेष उपस्थिति हुने उहाँको भनाइ छ ।

मन्दिरमा आउने भक्तजनहरुलाई बास बस्न सहज बनाउने उद्देश्यले आठ जना क्षमताको चार वटा कोठा र करिब ५० जना क्षमताको एउटा हल निर्माण गरिएको मन्दिरका सहकोषाध्यक्ष होमनाथ सापकोटाले जानकारी दिनुभयो । चार वटै कोठामा छुट्टाछुट्टै ‘एट्याच बाथरुम’ रहेको उल्लेख गर्दै उनले प्रतिकोठा ५०० रुपैयाँ शुल्क तोकिएको जानकारी दिनुभयो । त्यस्तै हलमा बस्नका लागि प्रति तीर्थयात्री एक सय रुपैयाँ तोकिएको उहाँको भनाइ छ ।

“मन्दिरमा बास बस्ने व्यवस्था गरिएको छ, खाना भने भक्तजन आफैले पकाएर खानुपर्छ” उहाँले भन्नुभयो, “खाना पकाउनका लागि आवश्यक सामग्री आफै लिएर आउनुपर्छ तर, पानी तथा पकाउने ठाउँका व्यवस्था मन्दिरले गरिदिएको छ ।” मन्दिरलाई अझै व्यवस्थित बनाउँदै जिल्लाकै उत्कृष्ट धार्मिक गन्तव्य बनाउने तयारी भएको  सापकोटाले बताउनुभयो  । यस चक्रघाटमा स्नान गर्दा सांसारिक मायामोहका प्रपन्चबाट मुक्ति प्राप्त भई पुण्य आर्जनसमेत हुने भएकाले यस स्थानमा हरिशयनी र हरिबोधिनी एकादशी, माघे सङ्क्रान्ति, नयाँ वर्षलगायतका अवसरमा भक्तजनको भीड लाग्ने गरेको सापकोटाले बताउनुभयो ।।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :