गैँडाकोट । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालनमा हुने चौथो गैँडाकोट महोत्सव एवम् व्यापार मेला २०८२ को निर्माणस्थलको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निरीक्षण गर्नुभएको छ ।
महोत्सवस्थल निरीक्षण गर्दै प्रजिअ पाण्डेले महोत्सवको सुरक्षा व्यवस्था मजबुत बनाउने प्रतिबद्धता जनाउनु भयो । मंगलबार महोत्सवस्थलको निरीक्षणपछि आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका पदाधिकारीसँग छलफल गर्दै प्रजिअ पाण्डेले महोत्सवको भित्री र बाहिर सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिदिने बताउनुभयो । उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी महोत्सवलाई सुरक्षित बनाउन सघाउने भन्दै महोत्सवस्थलमा सिसीटिभी क्यामेरा समेत जडान गर्न आयोजकलाई आग्रह गर्नुभएको छ ।
महोत्सवलाई मदिरा र जुवातासरहित बनाउनुपर्नेमा जोड दिँदै पाण्डेले महोत्सवस्थल नदीकिनारमा भएकाले दुर्घटनाको जोखिम रहनेभन्दै महोत्सव स्थललाई सुरक्षित बनाउन पाण्डेले आग्रह गर्नुभएको छ ।
। महोत्सवमा होहल्ला तथा असामाजिक व्यवहार गरे सुरक्षाकर्मीले पक्राउ गर्ने गरी नेपाल प्रहरी परिचालन गरिने पाण्डेको बताउनुभयो । महोत्सवलाई सुरक्षित बनाउनका लागि कम्तिमा ६ वटा आकस्मिक द्वार राख्न पाण्डेले आयोजकलाई निर्देशन दिनु भएको छ ।
महोत्सव अवधिभर पूर्वपश्चिम राजमार्गबाट महोत्सवस्थलसम्म पुग्ने बाटोलाई एकतर्फी बनाउने आयोजकको तयारी छ । यस सडकमा अक्सफोर्ड कलेजतर्फबाट महोत्सवस्थल जाने र शिलान्यासचोकतर्फबाट फर्किने गरी सडक एकतर्फी गर्नका लागि स्थानीय सरोकारवालासँग छलफल र सहकार्य गरिने महोत्सव सचिवलय संयोजक तेजनारायण पाण्डेले बताउनुभयो । महोत्सवलाई पूर्णरुपमा सुरक्षित पार्नका लागि आफूहरु लागिपरेको भन्दै पाण्डेले महोत्सवलाई सभ्य र भव्य बनाउने प्रतिबद्धता जनाउनु भयो ।
यसैबीच, महोत्सवस्थललाई धूलोरहित बनाउने गरी काम भइरहेको महोत्सवका संरक्षक एवम् संघका अध्यक्ष दीपक सापकोटाले बताउनुभयो ।
महोत्सव प्रवेशका लागि सर्वसाधारणले रु १०० तथा विद्यार्थीका लागि रु ७० को टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै सापकोटाले अपांग तथा ज्येष्ठ नागरिक र शैक्षिक संस्थाबाट संस्थागतरुपमा विद्यार्थीहरुको सहभागिता भएमा उनीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताउनुभयो ।
महोत्सव स्थलमा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपज प्रदर्शनी, माछा पोखरी निर्माण गरी स्थानीय जातका माछा राखिने महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक एवम् संघका वरिष्ठ सदस्य शालिकराम सापकोटाले जानकारी दिनुभयो । महोत्सव अवधिमा विभिन्न विषयमा छलफल तथा गोष्ठीको समेत आयोजना गरिएको सापकोटाको भनाइ छ ।
पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवका सांस्कृतिक संयोजक किशोर लम्सालले पुस २६ देखि नै महोत्सवमा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताउनु भयो । उहाकाअनुसार महोत्सवमा हरेक दिन हुने सांस्कृतिक कार्यक्रममा प्रकश सपूत, समीक्षा अधिकारी, हिमाल सागर, शिव परियार, रमेशराज भट्टराई, मेलिना राई, रचना, रिमाललगायतका कलाकारको प्रस्तुती रहनेछ । महोत्सवमै विशेष भजन प्रतियोगिता, जातीय नृत्य, विद्यालयस्तरीय नृत्यलगायतका प्रस्तुती रहने लम्सालको भनाइ छ ।

प्रजिअ पाण्डेद्वारा गैँडाकोट महोत्सवस्थलको निरीक्षण, सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता




