spot_img

Sunday, January 4, 2026

श्री त्रिपुरेश्वर हरिहरा मन्दिर गैंडाकोटमा श्रीमदभागवत सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ हुने

गैंडाकोट । श्री त्रिपुरेश्वर हरिहरा मन्दिर, गैंडाकोट १७, नारायणी तटमा बिशाल श्रीमदभागवत सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । यहि फाल्गुन ७ गते देखि १४ गतेसम्म अन्र्तराष्ट्रिय कथावाचिका मृदुभाषी पुज्य माता श्री राधिका दासी ज्यूको मुखार विन्दबाट संगीतमय कथा वाचन र अन्तर्राष्ट्रिय झाँकी सहितको महायज्ञ हुन गईरहेको आयोजक संस्था श्री त्रिपुरेश्वर हरिहर मन्दिरले जनाएको छ ।
परम पवित्र नारायणी नदीको तटमा हाम्रा पूर्वज ऋषि महर्षिहरुको ध्यान एवं तपस्या स्थल महाभारत पर्वत श्रृङ्खलाको काखमा रहेको नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वडा नं. १७ अमरापुरी नारायणी तटमा रहेको श्री त्रिपुरेश्वर हरिहर मन्दिर परिसरको व्यवस्थापन धार्मिक पर्यटकीय धाम क्षेत्र निर्माण, रामघाट, शिवघाट आदिको निर्माण गर्ने, साधुसन्त महन्त, असायहरु वृद्धवृद्धा बस्ने आश्रयस्थल निर्माण गर्ने संकल्प गरि यो महायज्ञ गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक एवं श्री त्रिपुरेश्वर हरिहर मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले बताउनुभयो ।
महायज्ञको तयारी अहिले धमाधम चलिरहेको छ । अहिले उपसमितिहरु गठन गरि कार्यक्रमहरु अगाडी बढाईएको छ । शुक्रबार गैंडाकोट १७ मा राखिएको बैठकबाट अपुरा उपसमितिहरुमा मनोनयन गरि पुर्ण गराईएको छ भने गर्नुपर्ने कामको बाँडफाँड तथा सचिवालय समिति गठन गरि कार्यालय स्थापना गरि कर्मचारी खटाउने गरि कार्य अघि बढाईएको छ । चिठिपत्र निमन्त्रणा वितरण, प्रचार प्रसार, पर्चा प्याम्प्लेट, फ्लेक्स ब्यानर बनाउने, माईकिङ्ग जिङ्गल, भिज्वल प्रचार सामाग्रीहरु समेत बनाउने कार्य अगाडी बढाईएको यज्ञ मुल आयोजक समितिका सचिव एवं हरिहर मन्दिर ब्यवस्थापन समितिका सचिव आनन्द रिजालले बताउनुभयो ।
शुक्रबारको बैठकमा अहिले सम्मका कार्यसम्पादनको विषयमा रिपोटिङ्ग समेत गरिएको थियो । महिला समूहको परिचालन, स्वयंसेवक परिचालन, अतिथि ब्यवस्थापन तथा सत्कार, सरसजावट, शोभा यात्रा आदि लगायतको विषयमा समेत छलफल गरि कार्य प्रकृया अगाडी बढाईएको छ । बैठकमा गैंडाकोट १७ का वडाध्यक्ष गोपि कंडेलसँगै समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको बिशेष सहभागिता रहेको थियो । महायज्ञलाई सफल बनाउनका लागि सबैले लागेपुगेको सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।
आयोजकले भगवानका भक्त महानुभावहरुलाई यस श्रीमद् भागवत सप्ताह धनधान्यञ्चल महायज्ञमा सहभागी भई भजन कीर्तनमा अपूर्व कथामृत पान गरि तन, मन, धन र वचनले सक्दो सहयोग गरी दिनुहुन समेत आग्रह गरिएको छ । पश्चिमी संस्कृति ले वैदिक सनातन संस्कृतिलाई आक्रमण तथा थिचोमिचो पारी धार्मिक सहिष्णुतालाई खलबल पारेको अवस्थामा सहिष्णुता कायम गर्नु, समाजलाई संस्कार दिनु अहिलेको कर्तव्य भएको महायज्ञ मूल आयोजक समिति गैंडाकोट न.पा. १७, अमरापुरीले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :