माघ २६ चितवन । साबिक विजेता रामपुर फुटबल क्लब (रड्स) लाई हराउँदै पटिहानी एफसी तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (शनिबार) सम्पन्न तेस्रो क्वाटरफाइनलमा पटिहानीले रामपुरविरुद्ध सहज जित निकालेको हो ।
पटिहानी हाबी भएको खेलमा दुई पटकको च्याम्पियन रामपुर ४-० ले पराजित भयो । बखान मिनी रगंशालामा भएको खेलमा पटिहानीलाई जिताउन रोशन क्षेत्रीले दुई तथा सुजन गुरुङ र कृपा चौधरीले समान एक-एक गोल गरे ।
सुरुवातबाटै आक्रमक खेलेको पटिहानीले पहिलो हाफको आठौं मिनेटमा रोशनको गोलमा अग्रता लियो । १९ औं मिनेटमा सुजनले गोल गरेपछि पहिलो हाफमा नै पटिहानीले दोहोरो अग्रता लियो ।
दोस्रो हाफको २४ औं मिनेटमा पटिहानीका रोशनले व्यक्तिगत दोस्रो गोल गरे । २८ औं मिनेटमा कृपाले गोल गरेपछि पटिहानीले ४-० को सहज जित निकाल्यो । दुई गोल गरेका रोशन प्लेयर अफ दि म्याच भए ।
यो हारसँगै यस अघिका दुबै संस्करणको उपाधि जितेको रामपुर यस पटक भने पहिलो खेलमा नै पराजित भएको छ । उता पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको पटिहानीले अब फाइनल प्रवेशका लागि शारदा युथ क्लब शारदानगरको सामना गर्नेछ । शरदानगर यस अघि स्टार स्पोर्टस क्लब माडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा आइतबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । जसमा परिवर्तन हातेमालो युथ सोसाइटी र अभिषेक चर्च रजहर भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ ।