काठमाडौं । बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट अस्ट्रेलियाले जितेको छ ।
मेलवर्नमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हराएको हो । यससँगै सिरिजमा अस्ट्रेलियाले २-१ को अग्रता बनाएको छ ।
अन्तिम दिन सोमबार अस्ट्रेलियाले भारतलाई ३४० रनको लक्ष्य दिएको थियो । भारत १५४ रन बनाएर अलआउट भयो ।भारतका लागि यशस्वी जैसवालले ८४ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले ३ विकेट लिएका छन् । मिचेल स्टार्क, स्कट बोल्यान्ड, नाथन लियोन र ट्राभिस हेडले एक एक विकेट लिए । चौथो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले ९ विकेट गुमाएर २२८ रन बनाएको थियो । पाँचौं दिनको सुरुमा अष्ट्रेलियाको टोली ६ रन जोडेर २३४ रनको स्कोरमा अलआउट भएको थियो र भारतलाई ३४० रनको लक्ष्य दिएको थियो ।
यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाले पहिलो इनिङ्समा ४७४ रनको ठूलो स्कोर बनाएको थियो, जसको जवाफमा भारतले पहिलो इनिङ्समा ३६९ रन बनाएको थियो ।
पहिलो इनिङ्समा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले शतक प्रहार गरे भने भारतका लागि नितिश कुमार रेड्डीले करियरको पहिलो शतक बनाए ।
अब अन्तिम टेस्ट जनवरी ३ देखि सिड्नीमा हुनेछ ।
कमेन्ट :