पुस १५ काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने भएको छ । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढ्दै गएकाले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्न निर्देशिका तयार पार्न लागेको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि भन्दै रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरिएको हो । निर्देशिका बनाउनका लागि मन्त्रालयले डा.दिपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ ।
समितिमा दिपकराज सापकोटा, डा.सुनिता मलेकु, डा.मेरिना श्रेष्ठ, डा.अरुण कुँवर सदस्य हुनुहुन्छ । यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकेको छ ।
समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनुपर्ने छ । अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गरिने छ ।
समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरु तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालको जनगणना २०७८ अनुसार चार हजार ८८४ जनामा अटिजम भएको छ । तर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ ।
अटिजमको समस्या गहिरो स्वास्थ्य समस्या बन्न नदिनका लागि पूर्वप्रतिबद्धता अनुसार नै मन्त्री पौडेलले सक्रियता देखाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । केही समयअघि अटिजमका क्षेत्रमा कार्यरत विज्ञहरुसँगसमेत मन्त्री पौडेलले अन्तरक्रिया गर्दै चाल्नुपर्ने कदमका बारेमा रायसुझाव सङ्कलन गरेका थिए ।