भाद्र ०५,गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुधबारबाट ३४ औँ वर्षमा प्रवेश गरेको छ ।
विकूको स्थापना वि.सं. २०४८ साल भाद्र ५ गते भएको थियो । विजय विकास स्रोत केन्द्र तत्कालीन विजय युवा क्लबको सक्रियतामा २६ जना सदस्यहरु मिलेर विकूको स्थापना भएको थियो । तत्कालीन विजय युवा क्लबको एउटा कार्यक्रमको रुपमा विजय युवा क्लब क्रेडिट युनियन भनेर संचालन गरियो । सो संस्था अहिले सहकारीका क्षेत्रमा विकूको नामले परिचित बनेको छ । विकूको वित्तिय अभियान प्रतिव्यक्ति दैनिक ५० पैसा संकलन गरि सुरु भएको थियो ।
समाजमा ब्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरि बचत गर्ने बानीको विकास गराउने तथा त्यसरी संकललित बचत लाई सदस्यहरु भित्रै परिचालन गरि विभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रबद्र्धन गर्नु यसको मुख्य उद्धेश्य रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा राजुले बताउनुभयो । विकूले २०५४ सालदेखि नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति प्राप्त गरि बढि भन्दा बढि सेवा पु¥याउन सफल भएको छ । अथक मेहनतको साथ वित्तय, गैरबित्तिय तथा उच्च प्रविधियुक्त सेवा सहज र सर्वशुलभ तरिकाले प्रदान गर्दै आज विकु स्थानीयको पहिलो रोजाई मात्र नभएर नेपालको उत्कृष्ट सहकारी संस्थाका रुपमा समेत पुरस्कार हाँसिल गर्न सफल भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले बताउनुभयो ।
विकूले ३४ औँ वार्षिकोत्सवका अवसरमा बुधबार अमरापुरी पार्टी प्यालेसमा विहान ८ बजेदेखि विभिन्न कार्यक्रम गरेको छ । विकूले सदस्यहरुको आर्थिक र सामाजिक सांस्कृतिक पक्षमा मात्र नभएर वित्तिय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरतामा अभियान चलाइरहेको भन्दै गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले कृतज्ञता व्यक्त गर्नुभएको छ । देशभरि सहकारीहरुमा समस्या देखिएपनि गैँडाकोटको गरिमा बनाएको विकू सहकारी विश्वासको जगमा उभिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।
आगामी दिनमा विकूले सदस्यहरुको आर्थिक गतिविधि बढाउने कार्यक्रम ल्याउन विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले सुझाब दिनुभएको छ । विकूका पूर्व अध्यक्ष केशवप्रसाद सापकोटाले विकू सहकारी प्रत्येक सदस्यको माता, पिता, बन्धु, सखाको रुपमा रहेको बताउनुभयो । विकूले हरेक परिस्थितिमा सदस्यसँग जोडिने भएको कारण सबै सहकारी सदस्यमुखी हुन आवश्यकता रहेको बताउनुभयो । विकूका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले विकू सदस्यहरु हितमा बाहेक अन्त केन्द्रीत नहुने भएकोले विकू सदस्यको विश्वासीलो सहकारी भएको बताउनुभयो । विकूको ३४ औँ वार्षिकोत्सव समारोहमा संस्थाका उपाध्यक्ष कालिदाश गौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विकूका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
विकूले ३४ औँ वार्षिकोत्सवका अवसरमा बुधबार विहान कर्मचारीबीच विभिन्न कार्यक्रम, यस अघि वक्तृत्वकला, रक्तदान, सरसफाई जस्ता सामाजिक लोककल्याणकारी कार्यक्रम सम्पन्न गरिसकेको छ । विकूले साँझ केन्द्रीय कार्यालय र सबै सेवा केन्द्रमा साँझ दीपप्रज्ज्वलनको कार्यक्रम गरेको विकूका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।