spot_img

Thursday, March 27, 2025

भरतपुरको स्ट्रबेरीखेती सबैको आकर्षणको केन्द्र बन्दै/ फर्ममै स्ट्रबेरी टिपेर खाने र फोटो खिच्ननेको घुइँचो

चैत १४ ,भरतपुर । चितवनको भरतपुर महानगरपालिका–५ समिचोकमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरीखेती सबैको आकर्षणको केन्द्र बनेको छ । यहाँ फर्ममै स्ट्रबेरी टिपेर खान र फोटो खिच्न आउनेको दैनिकजसो घुइँचो लाग्ने गरेको छ । नेपाल एग्रोभाइन प्रालिमार्फत सात युवाले यहाँ व्यावसायिक स्ट्रबेरीखेती गरेका छन् ।

अनुसन्धानसँगै व्यावसायिक रुपमा गरिएको स्ट्रबेरीखेतीमा सबैको आकर्षण बढेपछि यहाँ काम गरिरहेका युवा उत्साहित छन् । चार वर्षदेखि गरिएको स्ट्रबेरीखेतीले यस वर्ष सबैभन्दा बढी प्रतिफल दिएको छ । फर्म सञ्चालकमध्येका एक शशन देवकोटाका अनुसार इजिप्टबाट ल्याइएका बिरुवाले यस वर्ष दुई किलोसम्म फल दिएका छन् ।

फर्ममा छ प्रकारका स्ट्रबेरी रोपिएको छ । यहाँ अमेरिकन प्रकारका स्ट्रबेरी इजिप्टबाट ल्याएर रोपिएको हो । “फर्ममा आउनेहरुले आफैँ टिपेर जोखेर लैजान पाउँछन्”, उहाँले भन्नुभयो, “स्ट्रबेरीको जुससमेत खान पाइन्छ ।” रु सात सय किलोमा बिक्री हुने गरेको  उहाँले बताउनुभयो । उहाँका अनुसार फर्ममा अहिलेसम्म रु ७० लाख लगानी भइसकेको छ । स्ट्रबेरीले राम्रो फल दिएपछि यस वर्ष एक विघामा स्ट्रबेरीको व्यावसायिक खेती विस्तार गरिएको छ ।

“तराईमा स्ट्रबेरीखेती सम्भव हुँदैन भन्ने सोच परिवर्तन गर्न हामीले चितवनमा स्ट्रेबेरी खेती सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “राम्रो फलेको छ, हाम्रो टोली सन्तुष्ट छ ।” उहाँले उत्पादन राम्रो भएका कारण क्षेत्र बढाएर स्ट्रबेरीखेती गरिरहेको बताउनुभयो । शशनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट कृषिमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट स्नातकोत्तर गर्नुभएको छ । विगतका केही वर्ष स्ट्रबेरीमा अनुसन्धान गर्नुभएका उहाँको अग्रसरतामा नै यहाँ व्यावसायिक खेती गरिएको हो ।

उहाँको टोलीमा रहेका सबै युवाले कृषि नै पढेका हुन् । पढेका व्यक्तिले व्यावसायिकरुपमा कृषि गर्दा निकै राम्रो आम्दानी हुने उहाँको भनाइ छ । अब पढेका व्यक्तिले कृषि नगर्ने हो कृषि उत्पादन बढाउन नसकिने उहाँले बताउनुभयो । सामाजिक सञ्जालका कारण प्रख्यात बनेको यो फर्ममा स्ट्रबेरी टिप्न जानेको प्रत्येक वर्ष भीड नै लाग्ने गरेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार