काठमाडौँ । ‘नेपहपको श्रीपेच–२’ को सफलता सङ्गै निर्माता टोलीले ‘ब्याटल भूमि’ नामक नयाँ र्याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् । बालुवाटारको नेपाल हाउसमा सम्पन्न पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘ब्याटल भूमि’मा सहभागी हुनका लागि www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्ये उत्कृष्ट ६४ प्रतियोगी चयन गरिनेछन् र छनोट गरिएका सहभागीहरूले जज राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । डिजिटल अडिसनको लागि बिट श्रीपेच स्टुडियोको युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपि राइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ । विजेताले नगद रु ५ लाख रुपैयाँ तथा विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टका अवसरहरू प्राप्त गर्नेछन् ।
निर्माता सुदिप पोखरेलले नेपाली समाजमा र्याप र हिपहपको बढ्दो लोकप्रियतालाई मध्य नजर गर्दै यो कार्यक्रमको सुरुवात गरेको बताएका छन् ।
‘ब्याटल भूमि’को निर्देशकमा बिक्रम खनाल रहने छन् भने शो को कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट रहेका छन् । कार्यक्रमको मुख्य निर्णायकमा मानस घले रहनेछन् भने उनलाई विभिन्न एपिसोडमा गेस्ट जजले पनि साथ दिनेछन् । साथै ‘नेपहपको श्रीपेच–२’ का उत्कृष्ट प्रतियोगी मनिष ढकाल ‘मेक’लाई कार्यक्रम संचालकको भूमिकामा देख्न पाइनेछ । कार्यक्रमको मुख्य सहायक निर्देशकको रूपमा सुशान्त कटवाल रहेका छन् ।
दामी मिडियाको प्रस्तुति रहेको ‘ब्याटल भूमि’को डिजिटल अडिसन पुस २६ गते सम्म खुल्ला रहनेछ । कार्यक्रमको डिजिटल पार्ट्नरको रूपमा ओ.यस.आर रियालिटी र भोटिङ्ग पार्टनरको रूपमा एभेन्टोज रहेको छ ।
कमेन्ट :