गैँडाकोट (नवलपुर), १0 कात्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी गैँडाकोटको आयोजनामा शिक्षा ऐनको सम्बन्धमा एक बृहत् अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। मुकुन्दसेन बोर्डिङ स्कुल हर्कपुरको सभाहलमा आयोजित उक्त कार्यक्रममा सङ्घीय संसद्का शिक्षा समिति सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय राजेन गौतमको प्रमुख आतिथ्यता रहेको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी गैँडाकोटका अध्यक्ष रोशन मल्लको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक महासंघ नवलपुरका उपाध्यक्ष हिमालदेब पंगेनीले गर्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि सभा अध्यक्ष रोशन मल्लले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष गोविन्द उपाध्यायले गर्नुभएको थियो।
ऐनमा शिक्षकका माग जस्ताको तस्तै समेट्न पहल गर्छु: सांसद गौतम
कार्यक्रमका प्रमुख अतिथि माननीय राजेन्द्र गौतमले संघीय संसद्मा आउँदै गरेको नयाँ शिक्षा ऐनका विभिन्न प्रावधानहरूका बारेमा सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभयो। उहाँले शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूले उठाएका जायज माग, गुनासा र सुझावहरूलाई शिक्षा ऐनमा जस्ताको तस्तै समावेश गराउन र सम्बोधन गर्न आफ्नो तर्फबाट दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि तथा वक्ताहरूका रूपमा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष बलराम रानाभाट, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका उपाध्यक्ष विष्णुप्रसाद रिजाल, जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित, अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा सापकोटा, नगर शिक्षा समिति गैँडाकोट नगरपालिकाका सदस्य एवं गैँडाकोट अंग्रेजी स्कुलका प्रधानाध्यापक हिरालाल अर्याल, रत्नराज्य लक्ष्मी मा.वि.का प्रधानाध्यापक तथा संगठनमा पूर्व अध्यक्ष नवराज काफ्ले, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी कार्यक्रममा गण्डकी प्रदेशका अंग्रेजी विषयका प्रशिक्षक मनोजबिक्रम बिष्ट, विज्ञान शिक्षक मोहन भण्डारी, अंग्रेजी विषयगत नगर संयोजक राजु पुरी, नेपाल शिक्षक संघका पूर्व सचिव जगन्नाथ उपाध्याय, मुकुन्दसेन बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल राजेन्द्र पौडेल र समाजसेवी बोधराज लम्साल लगायतले आफ्नो धारणा राख्नुभएको थियो। वक्ताहरूले शिक्षा क्षेत्रका समसामयिक समस्या, शिक्षकका पेशागत हकहित र नयाँ बन्ने शिक्षा ऐनमा समेटिनुपर्ने अपरिहार्य विषयवस्तुहरूमाथि जोड दिनुभएको थियो।
कार्यक्रममा उपस्थित विभिन्न विद्यालयका शिक्षक तथा शिक्षाप्रेमीहरूले खुला रूपमा आ-आफ्ना गुनासा, माग र रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन रत्नराज्य लक्ष्मी मा.वि.का प्रधानाध्यापक एवं पूर्व अध्यक्ष नवराज काफ्लेले गर्नुभएको थियो। स्थानीय स्तरमा विद्यालय शिक्षाको भविष्य र ऐनका प्रावधानबारे भएको यो बृहत् अन्तरक्रियाले नीति निर्माण तहमा गतिलो सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ।











