गैँडाकोट । गैंडाकोट–८ मा प्रधान कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। गत आर्थिक वर्षमा संस्थाले गरेका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा संस्थाको कारोबार र सदस्य सेवासहित समग्र गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।
बैठकमा विभागीय, क्षेत्रीय तथा सेवा केन्द्र प्रमुखहरूले आ–आफ्नो विभाग, क्षेत्र र सेवा केन्द्रले गत आर्थिक वर्षमा हासिल गरेका उपलब्धि, आगामी लक्ष्य तथा योजना, सम्भावना, सदस्य सेवा, अवसर र चुनौतीका साथै चुनौती समाधानका उपायबारे प्रस्तुती राख्नुभएको थियो।
संस्थाले आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरेको लक्ष्य अन्तर्गत करिब ९४ प्रतिशत समग्र उपलब्धि हासिल गरेको सस्थाले जनाएको छ।
संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले संस्थाको दिगो विकासका लागि कर्मचारीको समर्पण, अनुशासन र सदस्यमैत्री सेवामा जोड दिन आग्रह गर्नुभयो।
त्यसैगरी संस्थाका उपाध्यक्ष कालिदास गौडेलले सहकारीको प्रभावकारी सञ्चालनका लागि सबै तहबीच समन्वय, जिम्मेवारी र सक्रियता आवश्यक रहेको बताउनुभयो।
यसैबीच, गत आर्थिक वर्षका लागि सेवा केन्द्रहरूलाई निर्धारण गरिएको वित्तीय लक्ष्यमध्ये सर्वोत्कृष्ट उपलब्धि हासिल गर्दै गरिमा सेवा केन्द्र उत्कृष्ट सेवा केन्द्रघोषित भएको छ।
संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यतामा भएको कार्यक्रम भएको थियो। बैठकमा संस्थाको वर्तमान अवस्था, आगामी योजना तथा समसामयिक विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो। बैठकमा विभागीय प्रमुख, क्षेत्रीय प्रमुख तथा सबै सेवा केन्द्रका प्रमुखहरूको सहभागिता रहेको थियो।






