वि.सं.२०७९ साल जेठ २९ गते उपभोक्ता माझबाट निर्वाचित भएको कृष्णप्रसाद न्यौपाने नेतृत्वको कार्यसमिति गत असार ७ गते विदाइ भएको छ । गत जेठ ३१ गते भएको निर्वाचनबाट नयाँ कार्यसमितिले पदभार ग्रहण गरिसकेको छ ।
पूर्व वडा अध्यक्ष समेत रहनुभएका न्यौपाने र उहाँको टिम २०७९ सालमा आउँदा संस्थालाई नविनतम् र पारदर्शी रुपमा उपभोक्ता मैत्री बनाइ संस्था चलाउनुपर्ने प्रतिवद्धता थियो ।
उपभोक्तामाझ गरिएको प्रतिवद्धता मनन गर्दै न्यौपानेको समूह प्रशासनिक सेवा सुधारको कामबाट अघि बढ्यो । केही समयमै दक्ष जनशक्ति र निश्चित जनशक्तिले काम गर्न सक्ने सिष्टमको विकास गरेको न्यौपानेले बताउनुभयो । अघिल्लो कार्यसमितिले गरेको गाडी किन्ने निर्णय उल्टाउँदै संस्थागत विकासमा चुस्तता दिनुभएको थियो ।
आफ्नो कार्यकालमा गैँडाकोट १ को पश्चिम क्षेत्रमा कार्यक्षेत्र विस्तार गरे । उपभोक्ता घरधुरी एकहजारले बढ्यो । अहिले करिब ७ हजार उपभोक्ता घरधूरी छन् । कृष्णप्रसाद न्यौपाने नेतृत्वको समूहले आफ्नो कार्यकालमा २ वटा बोरिङ थप ग¥यो । ८ वटा ओभरहेड तथा बोरिङ पम्प हाउसहरुको परिसरलाई ग्रीनरी बनायो ।
सामाजिक सुरक्षा तथा सरसफाइका क्षेत्रमा पृथक र अतिआवश्यक कामको थालनी गरे । ९ वटा स्थानमा आगलागी नियन्त्रणका लागि दमकलले पानी भर्ने फायर हाइड्रेण्ट निर्माणको काम सम्पन्न गर्यो र अहिले सामाजिक हितमा प्रयोग भइरहेको छ ।
कृष्ण न्यौपाने नेतृत्वको कार्यकालमा करिब ६० किलोमिटर पाइपलाइनको विस्तारको काम सम्पन्न भयो । न्यौपाने नेतृत्वको कार्यसमितिले धेरै कामहरु गरेको छ । मृतकको घरमा भेटी स्वरुप १ महिनाको पानी महशुल शुल्क छुट दिने निर्णय गरि कार्यान्वयनमा ल्याएको थियो । प्रत्येक परिवारमा ५ हजार लिटरसम्म पानीको प्रयोगलाई निःशुल्क बनाएको छ ।
धारा जडानमा स्थानीय सरकारसँग समन्वय गरी विपन्न समुदायका नागरिकलाई राहत प्रदान गर्ने असल अभ्यासको थालनी गरेको थियो । सरसफाइको क्षेत्रमा नयाँ र नौलो अभ्यासको थालनी गर्यो । विद्यालयलाई २५ प्रतिशतसम्म शुल्कमा छुट दिने निर्णय गरियो । छुटरकम विद्यालयले सरसफाइको क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधान बनाइ राम्रो सन्देश दिन सकेको छ । न्यौपाने नेतृत्वको समूहले चार वर्षको अवधिमा उपभोक्तका लागि दीर्घकालिन प्रभाव छाड्ने काम गर्दै विदा भइसकेको छ ।





