single head

इच्छाकामना गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न / कुल ६८ करोड २४ लाख २८ हजार रुपैयाँको बजेट बिनियोजन

single post top 1

चितवन । “समृद्ध इच्छाकामना, सुशासन र सामाजिक न्याय” को मूल मर्मलाई आत्मसात गर्दै इच्छाकामना गाउँपालिकाको गरिमामय १९ औं गाउँसभा सम्पन्न भएको छ। गाउँसभाका अध्यक्ष दान बहादुर गुरुङको सभाध्यक्षतामा आयोजित उक्त विशेष समारोहमा आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्य सार्वजनिक गरिएको हो।

single p1

सभामा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष माया सिलवालले वार्षिक बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो। विगतका सफल उपलब्धिलाई संस्थागत गर्दै र विद्यमान चुनौतीहरूलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता सहित प्रस्तुत गरिएको यस बजेटले स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको छ।

single p2

गाउँपालिकाका तर्फबाट उपाध्यक्ष माया सिलवालले आगामी आर्थिक वर्षका लागि कुल ६८ करोड २४ लाख २८ हजार रुपैयाँको बजेट अनुमान प्रस्तुत गर्नुभएको छ। यो बजेट कार्यान्वयनका लागि सङ्घीय सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड तथा ६ करोड ३० लाख रुपैयाँको आन्तरिक आयलाई मुख्य स्रोत बनाइएको छ।

 

यसका साथै सङ्घ र प्रदेशको शसर्त, समपूरक र विशेष अनुदान बापत २८ करोड १५ लाख ७८ हजार रुपैयाँ परिचालन गरिनेछ भने बजेट परिपूर्तिका लागि अघिल्लो आर्थिक वर्षको बैंक मौज्दातबाट ४ करोड ७२ लाख २७ हजार ९ सय ५ रुपैयाँ उपयोग गरिने व्यवस्था मिलाइएको छ। क्षेत्रगत विनियोजनतर्फ गाउँपालिकाले सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै २६ करोड ९५ लाख ६९ हजार रुपैयाँ छुट्ट्याएको छ भने पूर्वाधार विकासमा २२ करोड २६ लाख ९३ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ६ करोड ४२ लाख, आर्थिक विकासमा ५ करोड ११ लाख ८२ हजार र वन, वातावरण तथा विपद् व्यवस्थापनमा ८८ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

अध्यक्ष दान बहादुर गुरुङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी योजनाहरू अघि सार्नुअघि विगत आर्थिक वर्ष २०८२-०८३ का महत्त्वपूर्ण प्रगतिको समीक्षा गरिएको थियो। जसअन्तर्गत स्वास्थ्य क्षेत्रमा इच्छाकामना आधारभूत अस्पतालबाट २४ सै घण्टा डाक्टर र प्रयोगशाला सहितको सेवा सुनिश्चित गरिएको, विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा र असहाय, गर्भवती एवं दुर्घटनामा परेकाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गरिएको विषयलाई प्रमुख उपलब्धिका रूपमा लिइएको छ।

शिक्षातर्फ विद्यालयहरूमा नयाँ कक्षाकोठा, विज्ञान प्रयोगशाला, सूचना प्रविधि व्यवस्थापनका साथै विद्यालय करेसाबारी कार्यक्रम सञ्चालन गरिएको छ। पूर्वाधार विकास अन्तर्गत हात्तीबाङ, काउले हपनी, फिस्लिङ सिरानगाउँ, चुम्लिङटार, मुग्लिन तामिन लगायतका मुख्य ग्रामीण सडकहरूमा पक्की ढलान र कालोपत्रे कार्य सम्पन्न भएको तथा कालिङ, चौकीडाँडा, भोटेगाउँ लगायतका क्षेत्रमा खानेपानी योजनाहरू पूरा भएका छन्। पर्यटन र वातावरण संरक्षण तर्फ ऐतिहासिक उपरदाङगढीको पुरातात्त्विक शैलीमा पुनर्निर्माण गरी ऐतिहासिक तोप र युद्ध सामग्रीहरूको पुनःस्थापना गरिएको र बजार क्षेत्रहरूमा निःशुल्क फोहोर सङ्कलन कार्य प्रभावकारी रूपमा अघि बढाइएको जानकारी दिइयो।

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिकाले स्वास्थ्य, चिकित्सा सेवा र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ। १५ शैयाको इच्छाकामना आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न गर्ने नीति लिँदै अस्पतालमा मरणोपरान्त शव सुरक्षित राख्न ‘Death Body Storage Fridge’  को व्यवस्था गरिनेछ र टोल बस्तीस्तरसम्म विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला र बालबालिकाहरूको पोषण सुधार तथा स्वास्थ्य उपचारका लागि बजेट सुनिश्चित गर्दै विभिन्न स्वास्थ्य संस्थाहरूको भौतिक सुधारका लागि ५ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

शिक्षा र डिजिटल रूपान्तरण तर्फ “एक विद्यालय एक करेसाबारीस एक विद्यालय एक पूर्वाधार” कार्यक्रमलाई निरन्तरता दिँदै विद्यालयहरूमा डिजिटल शिक्षण प्रणालीको उपयोग, जीर्ण विद्यालयहरूको पुनर्निर्माण, कक्षाकोठा मर्मत तथा भौतिक सुधारका कार्यहरू अघि बढाइनेछ। कृषि, पशुपालन र रैथाने बालीको व्यावसायिकरण अन्तर्गत स्थानीय रैथाने बालीहरू जस्तै कोदो, मकै, फापर, जौ, दलहन, अदुवा, वेसार, टिमुर र खुर्सानी आदिको विकास र विस्तारका लागि व्यावसायिक प्रोत्साहन गरिनेछ। जमिनको उर्वराशक्ति बढाउन प्राङ्गारिक कम्पोष्ट र गँड्यौला मलको प्रयोगलाई बढावा दिँदै बाख्रा, भैंसी, बङ्गुर र कुखुरापालनका लागि आधुनिक खोरगोठ निर्माणमा सहयोग पुर्‍याइनेछ भने पशुहरूमा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि गाउँपालिका स्तरीय क्विक रेस्पोन्स टीमलाई सक्रिय बनाइनेछ।

यातायात सहजताका लागि मुख्य बस्ती र वडा केन्द्र जोड्ने उद्देश्यका साथ व्यापक सडक पूर्वाधारका योजना समेटिएका छन्। हात्तीबाङ कालिङ जौतेश थाप्राङ चौकीडाँडा सडक, वल्याङ हपनी काउले भोटेगाउँ सडक, फिस्लिङ सिरानगाउँ सडक, चौतारा इच्छाकामना सडक, कुरिनटार नयाँबस्ती सडक लगायत दुई दर्जन बढी ग्रामीण सडकहरूको स्तरोन्नति तथा पक्की ढलानका लागि ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने धमिली खोलामा पक्की पुल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ।

खानेपानी र वातावरण व्यवस्थापन अन्तर्गत “एक घर एक धारा” अभियान मार्फत सुरक्षित खानेपानी पुर्‍याउन विभिन्न सङ्घरसंस्थासँग ५० लाख रुपैयाँको साझेदारी गरिनेछ। शान्ति बजार, मुग्लिन, केबलकार, रमाइलोडाँडा, लेवाटार, कुरिनटार र चुम्लिङटार लगायतका स्थानहरूको फोहोरमैला व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर स्रोतमा नै वर्गीकरण गर्ने कार्यलाई अनिवार्य बनाइने नीति लयुवा, महिला लक्षित कार्यक्रम र सुशासनलाई सुदृढ बनाउन “अध्यक्षसँग युवा, खेलकुद तथा पत्रकार कार्यक्रम” र “उपाध्यक्षसँग महिला तथा विद्यार्थी नवप्रवर्तन कार्यक्रम” का लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको छ। न्यायिक समितिको कार्यलाई थप प्रभावकारी र सुदृढ बनाउन २८ लाख रुपैयाँ छुट्ट्याइएको छ।

प्रशासनिक सुगमताका लागि वडा तहबाटै योजना सम्झौता र रकम भुक्तानीका लागि आवश्यक फाइल सङ्कलन गरी वडा सचिव मार्फत कार्य सम्पादन गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले  बजेट र नीति कार्यक्रमले इच्छाकामनाको सुशासन र प्रशासनिक सक्षमतालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले बजेटको व्यावहारिक र पारदर्शी कार्यान्वयनका लागि प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको र नागरिकलाई छिटो-छरितो सेवा प्रवाह गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता समेत जनाउनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3