माघ ३,गैँडाकोट । चौथो गैँडाकोट महोत्सवमा आज शनिबार चर्चित गायिका ज्योति मगरले प्रस्तुती राख्ने बताइएको छ । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी महोत्सवमा आज शनिबार ज्योति मगर सहित दीप काफ्ले, एन्जिला रेग्मी, राजन गुरुङको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।
लम्सालकाअनुसार महोत्सवमा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती राखिरहेका छन् । आज शनिबार कम्तिमा २० हजार दर्शक महोत्सव अवलोकनका लागि सहभागी हुने अपेक्षा गरिएको महोत्सवका सचिवालय संयोजक तेजनारायण पाण्डेले बताए । महोत्वमा राखिएका विभिन्न आकर्षणहरुले दर्शकको ध्यान खिच्न सफल भएको पाण्डेको भनाइ छ ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवप्रति दिनप्रतिदिन दर्शकहरुको आकर्षण बढ्दै गएको छ । पुस २५ गते सुरु भएको महोत्सव माघ १० गतेसम्म जारी रहने भन्दै सापकोटाले महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने बताए । महोत्सवमा २५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुनेभन्दै सापकोटाले महोत्सवमा कृषि प्रदर्शनी, व्यापारिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यान रहेको जानकारी दिए ।
संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको कँडेलको भनाइ छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।





