गैँडाकोट । कक्षाकोठामा सम्म शैक्षिक सामाग्रीको प्रयोग पुर्याउने उद्देश्यका साथ गैँडाकोट नगरपालिकाको आयोजना एवं कालिका नमुना मा.विको सह आयोजना तथा व्यवस्थापनमा बुधबार कालिका मा.वि परिसरमा शैक्षिक प्रर्दशनी सञ्चालन गरिएको छ । सो शैक्षिक प्रदर्शनीमा गैँडाकोट नगरपालिकाका विद्यालयहरुको सहभागिता रहेको थियो ।
शैक्षिक प्रर्दशनीमा साइनिङ्ग आवासिय माध्यमिक विद्यालयले प्रथम स्थान, जनक नमुना माध्यमिक विद्यालयले द्वितिय स्थान र कालिका नमुना माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगितामा विद्यार्थीहरुले विज्ञान, गणित, सामाजिक, प्रविधि, स्थानिय विषय हाम्रो गौरव हाम्रो गैँडाकोट, नेपाली, अँग्रेजी र स्वास्थ्य जस्ता विषयका पाठ्यक्रममा आधारित भएर शैक्षिक सामाग्री निर्माण गरी प्रर्दशनी गरेका थिए ।
शैक्षिक प्रर्दशनी प्रतियोगिताको निर्णायकको रुपमा शिक्षा, युवा तथा खेलकुद शाखा गैँडाकोटका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, शिक्षा, युवा तथा खेलकुद शाखा खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बाँनिया र चमेलीदेवी पिया माध्यमिक विद्यालय भरतपुर ३ का विज्ञान शिक्षक प्रदिप काफ्ले रहनुभएको थियो ।
गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो शैक्षिक प्रर्दशनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारी, प्राविधिक सहायक नेहाल गौतम कालिका नमुना मा.विका संस्थापक प्रधानाध्यापक वेदप्रसाद गौंडेल, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संयोजकमा कालिका नमुना माध्यमिक विद्यालयका शिक्षक मुकुन्द उपाध्याय रहनुभएको थियो ।







