जेठ २७ चितवन। अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ ।
अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाको पठनपाठनमा समेत समस्या भएको भन्दै महानगरले भोलिदेखि जेठ ३० गतेसम्म सबै विद्यालयलाई बिदा दिएको हो । वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयहरुमा गर्मी बिदा दिइएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो ।
बिदाको अवधीमा बालबालिकालाई चर्को घाममा हिँड्न नदिन, नदीरपोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता गतिविधि गर्न नदिन एवम् आवश्यक सावधानी अपनाउन महानगरले अनुरोध गरेको छ ।
यस्तै खैरहनी नगरपालिकाले पनि विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ । नगरपालिका भित्रका विद्यालयहरुमा एक दिनका लागि सामुदायिक तथा सबै संस्थागत विद्यालयहरुमा बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । यस वर्षको वर्षे सट्टा बिदा दिने गरी यो निर्णय गरिएको उहाँले बताउनुभयो ।यस्तै रत्ननगर नगरपालिकाले पनि विद्यालयहरुमा एक दिनका लागि सार्वजनिक बिदा दिएको छ ।