असोज १९, काठमाडौँ। वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली यश्विसले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार ललितपुर क्विन्सलाई ३–२ को संघर्षपूर्ण सेटमा हराउँदै कर्णालीले अपराजित रहँदै उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक खेलको सुरुवाती दुई सेट कर्णालीले जितेको थियो । त्यसपछि खेलमा पुनरागमन गरेको ललितपुरले दुई सेट आफ्नो पक्षमा पारेको थियो । सुरुवातमा कर्णाली २५–१७, २५–२० ले अगाडि बढेको थियो । त्यसपछि कर्णालीले ललितपुरलाई १२–२५, १८–२५ को नतिजा सुम्पियो । निर्णायक सेट कर्णालीले १५–१३ ले जितेको हो ।
यो लिग नेपालमा पहिलो पटक आयोजना भएको फ्रेञ्चाइज महिला भलिबल प्रतियोगिता हो । लिगमा च्याम्पियन कर्णाली र उपविजेता ललितपुरसहित मधेश युनाइटेड, काठमाडौँ स्पाइकर्स, चितवन शक्ति र गण्डकी थण्डर्स गरी ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो ।
फाईनलमा दुवै टिमबीच निकै संघर्ष चल्यो र खेल पाँचौ सेटसम्म पुग्यो । कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो भने ललितपुरले तेस्रो र चौथो सेट सेट जित्यो । अन्तिममा पाचौं सेट कर्णालीले १५–१३ ले जित्दै उपाधि हात पार्यो ।