असोज १८,ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको कार्य यही वर्षदेखि सुरु हुने बताउनु भएको छ ।
शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकममा रहेको इन्टिग्रेटेट नेटवर्क अपरेशन सेन्टरको अवलोकन गर्नुहुँदै मन्त्री गुरुङले सो कुरा बताउनुभयो । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा देखिएको नेटवर्कको समस्या एवम् समाधानका लागि भइरहेको प्रयासबारे उहाँले जानकारी लिनुभएको हो ।
मन्त्री गुरुङले भन्नुभयो, “अहिले समस्या सङ्कलनको ठाउँमा छु । धेरै ठाउँमा फोन आउँदैन, कभरेज छैन । कभरेज गर्नलाई टावर राख्नुपर्ने होला । कतिपय ठाउँमा थप्नुपर्ने होला, त्यो काम हामी गर्छौं ।”
उहाँले कतिपय ठाउँमा बोल्दा–बोल्दै आवाज काटिने जस्ता विभिन्न समस्या भएको उल्लेख गर्नुहुँदै गुणस्तरीय कभरेजका लागि जोड दिनुपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, हाम्रो ठूलो योजना के छ भने एक्टिभ फोरजी कभरेज यो वर्षभित्र पुराउनुपर्छ । सम्भवतः फाइभजीको महानगरतिर ट्रायल गर्ने भन्ने छ । फाइभजी सुरु गर्नेमा नेपाल टेलिकम अगाडि हुन्छ ।”
उहाँले यो वर्षभित्र डिजिटल नेपालको महत्वपूर्ण पाटोको रुपमा रहेको सूचना प्रविधिमा आधारित सुशासन प्रणालीको काम सुरु गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडा कार्यालय, पालिका, प्रदेश सरकार नेपाल सरकार सबै अनलाइन बेस्ड गर्भनेन्समा जाने भनेका छौं । यो काम यो वर्ष थाल्छौं । डिजिटल नेपालको एउटा महत्वपूर्ण पाटो यो बनेको छ । यो सुशासन कायम गर्ने प्रमुख माध्यम भएकाले यसमा हामी अगाडि बढ्नेछौं ।”