असार ३० ,चितवन । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।
परियारको भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा पर्नुभएको थियो । परियारको शवको पोष्टमार्टम हुन भने बाँकी रहेको छ ।
यसैगरी, माझी काठमाडौँबाट सर्लाही जाँदै गर्दै दुर्घटनामा पर्नुभएको हो ।
यसअघि, शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उहाँको पहिचान खुलेको थियो ।
यद्यपी, प्रहरीले सार्वजनिक गरेको बसको चलानीमा परियार र माझीको नाम उल्लेख गरिएको छैन । उहाँहरु चलानी काटी सकेपछि बसमा बिच बाटोबाट यात्रा गर्नुभएको बताइन्छ ।
शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।
आइतबार तेस्रते दिन पनि बिहानैदेखि उद्धारकर्मी हराइरहेको बस र यात्रुको खोजीमा जुटेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली बिहानैबाट त्रिशूली नदीमा खोज कार्यमा जुटेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले अहिलेसम्म चितवनको मेघौली गोलाघाट र नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा तीन जना यात्रुको शव भेट्नु बाहेक अन्य ठोस कार्य हुन नसकेको बताउनुभयो ।
“सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ । तर पनि दुर्घटनामा परेका दुवै बस भेटिएका छैनन्”, उहाँले भन्नुभयो । अत्याधुनिक उपकरणहरुसहित गोताखोरहरुको समेत खोज कार्यमा संलग्नता रहेको छ ।