असार २,काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारप्रति असन्तुष्टि जनाएका हुन् ।
आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको उनले बताए । ‘ हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं । केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं ।’ उनले भने ।
सरकारमा गएपछि शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा अनुभव गरिरहेको भन्दै उनले वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीभित्र सल्लाह पनि भएको बताए ।