spot_img

Thursday, February 13, 2025

अत्याधुनिक सुविधा सहितको क्यासी स्पोर्टस् कम्प्लेक्स सञ्चालनमा आउदै

चितवन । चितवनको भरतपुरमा अत्याधुनिक सुविधा सहितको स्पोर्टस् कम्प्लेक्स सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका वडा नं. ३ नौघरेमा खेलप्रेमीहरुका लागि लक्षित गर्दै क्यासी स्पोर्टस् नामको स्पोर्टस् कम्प्लेक्स सञ्चालनमा आउन लागेको हो ।

स्पोर्टस् कम्प्लेक्समा २ वटा फुटसल मैदान, इन्डोर क्रिकेट मैदान, स्वीमीङ पुल र स्पोर्ट्स बार रहने क्यासी स्पोर्टस्का सञ्चालक डा. शुभ लामिछानेले जानकारी दिनुभयो । स्पोर्टस् कम्प्लेक्समा हालसम्म २ वटा फुटसल मैदान, इन्डोर क्रिकेट मैदान निर्माणको काम सकिएको लामिछानेले बताउनुभयो।

  • -advertisement-

उहाँका अनुसार फुटसल र इन्डोर क्रिकेट मैदान (क्रिकसल) निर्माण सम्पन्न भएसँगै विगत तीन महिनादेखि सञ्चालनमा ल्याइसकिएको छ । फुटसल र क्रिकेट खेल्नका लागि सामुहिक तथा एकल रुपमै खेलप्रेमीहरु क्यासी स्पोर्टस् पुग्ने गरेका छन् । संस्थागत र सामुदायिक विद्यालयहरुमा उचित खेलमैदान नहुँदा विभिन्न विद्यालयहरुबाट समेत संस्थागत रुपमै सम्झौता गरेर खेलकुदका गतिविधीहरु सञ्चालन भैरहेका छन् ।

निर्माण सम्पन्न भएका दुई फुटसल मैदान मध्ये एउटा फुटसल मैदान अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाइएको छ । दुवै फुटसल मैदानमा चौविसैघण्टा खेल्न सकिने गरि उच्च स्तरका लाईटहरु जडान गरिएको छ ।हालसम्म भौतिक निर्माणको ८० प्रतिशत काम पुरा भएको बताउदै आगामी नयाँ वर्षदेखि औपचारिक रुपमा क्यासी स्पोर्टस्को सञ्चालनको तयारी गरिएको क्यासी स्पोर्टस्का म्यानेजर चेतन थापाले बताउनुभयो ।

थापाका अनुसार स्पोर्टस् कम्प्लेक्स भित्र अहिले स्पोर्ट्स बार र स्वीमीङ पुल निर्माणको काम अघि बढिरहेको छ । निर्माणाधीन स्पोर्टस बारभित्र ठुलो पर्दामा खेलकुदका गतिविधीहरु हेर्दै एकैपटकमा झण्डै ३०० ग्राहकहरुले खाजा खान सक्नेछन् ।
१९ कठ्ठा १३ धुर क्षेत्रफल भित्र निर्माण भैरहेको स्पोर्टस् कम्प्लेक्स निर्माण सम्पन्न गर्नका लागि झण्डै १० करोड रुपैँया लगानी हुने अनुमान गरिएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार