गैडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा महिलाहरूको पाठेघरको क्यान्सर परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा संस्थाको मुख्य कार्यालय गैडाकोट २ मा सञ्चालित शिविरमा ८४ जना महिला सदस्यको स्वास्थ्य परीक्षण गरिएको हो। शिविरमा सहभागीहरूलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको संस्थाले जनाएको छ।
गण्डकी साकोसका अध्यक्ष गोविन्द सुवेदीका अनुसार “सदस्यहरूको आर्थिक विकाससँगै स्वास्थ्य सुरक्षालाई पनि संस्थाले उत्तिकै प्राथमिकतामा राखेको छ। पाठेघरको मुखको क्यान्सर महिलाहरूमा देखिन सक्ने गम्भीर स्वास्थ्य समस्यामध्ये एक भएकाले समयमै परीक्षण गराई रोगको पहिचान र उपचार गर्न सकियोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हौँ। सदस्यको स्वास्थ्य हाम्रो सरोकार भन्ने भावनाका साथ आगामी दिनमा पनि सदस्य तथा समुदायलाई लक्षित गरी यस्ता स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनेछौँ।
शिविर सञ्चालनमा युवा तथा बाल उपसमिति र महिला उपसमितिका सदस्यहरूले व्यवस्थापकीय सहयोग गरेका थिए। कार्यक्रममा संस्थाका सञ्चालक तथा सल्लाहकारहरूको पनि उपस्थिति रहेको थियो।
संस्थाको स्वास्थ्य उपसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षता रहेको थियो।
यसैबीच, सहभागी सदस्यहरूलाई सहकारीसम्बन्धी चेतनामूलक नेपाली चलचित्र ‘लक्ष्मीप्रसाद समेत प्रदर्शन गरिएको थियो। सदस्यको स्वास्थ्य हाम्रो सरोकार भन्ने भावनाका साथ संस्थाले हरेक वर्ष सदस्य तथा समुदायलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।










