गैंडाकोट । गैंडाकोट नगरपालिकाले मंगलबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ । ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो । गैंडाकोट नगरपालिकाको आयोजना तथा आफन्त नेपालको सहकार्यमा एक कार्यक्रमकाबीच अन्तरक्रिया तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
सार्वजनिक वा निजी जिवनमा लिङ्गको आधारमा कसै प्रति शारिरीक मानसिक वा यौनजन्य क्षति वा पीडा पुर्याउने कार्यलाई लैङ्गिक हिंसा हो । हिंसा विरुद्ध सबैले आवाज उठाउने सहभागिहरुले प्रतिबद्धता जनाएका थिए ।कार्यक्रममा गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले विद्यालय स्तरीय तथा समुदायस्तरीय, पालिकास्तरीय विभिन्न कार्यक्रमहरू यस अभियानमा गरिने भन्दै उहाँले हिंसा न्यूनीकरणमा सबै मिलेर हातेमालो गर्दै अघि बढ्न आग्रह गर्नुभयो । हिंसा अन्त्य गर्न आफु सचेत बन्नुपर्ने र आर्थिक, मानसिक रुपमा पनि सबल बन्ने गरि काम गर्नुपर्नेमा उपप्रमुख कोइरालाले जोड दिनुभयो ।

त्यस्तै, नगर प्रमुख मदनभक्त अधिकारीले अहिलेको समयमा समुदाय शिक्षित हुँदै गएको अवस्थामा समेत हिंसाका घटनाहरू बढ्नु , शिक्षित वर्गबाट नै हिंसा हुनु अनुसन्धानको विषय बनेको भन्दै उहाँले सरोकारवाला सबै मिलेर यस विषयमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयोे । प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रमको स्वगत मन्तव्य तथा सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख राधा पौडेलले गर्नुभएको थियो ।





