माघ ७ काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र डुब्छ भन्नु प्रायोजित हल्ला मात्र भएको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा आइतबार आयोजित चालु आर्थिक वर्षको छ महिनाको आर्थिक सूचक सार्वजनिक कार्यक्रममा उहाँले बैङ्क डुबेकाले अर्थतन्त्र पनि डुब्छ भन्ने किसिमका प्रायोजित हल्ला नपत्याउन आग्रह गर्नुभएको छ । “बैङ्क पनि डुब्दैन, अर्थतन्त्र पनि डुब्दैन,” उहाँले भन्नुभयो “अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धतासहित हामी आएका छौँ । अर्थतन्त्र डुब्न पनि दिन्नौँ ।”
वर्तमान सरकारले अर्थतन्त्रको जिम्मेवारी लिँदा आर्थिक परिसूचक प्रतिकूल भए पनि त्यसलाई सुधार्दै अहिलेको अवस्थासम्म आइपुगेको अर्थमन्त्रीले प्रस्ट पार्नुभयो । “यहाँसम्म आइपुग्न हामीलाई पक्कै समय लागेको छ,” उहाँले भन्नुभयो, “त्यही प्रयासले अर्थतन्त्रलाई सकारात्मक दिशामा फर्काएका छौँ । सूचकहरूले पनि यही कुरा बोलिरहेका छन् ।”
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको छ महिनाको विवरण अनुसार चालु आवको पहिलो त्रैमासिकमा मुलुकले ३.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ । त्यस्तै उपभोक्ता मुद्रास्फीति गत आवको छ महिनाको ६.७१ प्रतिशतको तुलनामा घटेर ४.८८ प्रतिशत कायम छ ।
वस्तु आयातनिर्यात पनि बढेको अर्थ मन्त्रालयले जनाएको छ । छ महिनामा नेपालले आठ खर्ब २२ अर्ब रुपियाँको वस्तु आयात गर्दा ९८ अर्ब ७९ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । जबकि गत आवको सोही अवधिमा सात खर्ब ६८ अर्ब रुपियाँको आयात र ७४ अर्ब ९७ करोड रुपियाँको निर्यात भएको थियो । यस हिसाबले आयात ७.१ प्रतिशतले बढेको छ भने निर्यात करिब ३२ प्रतिशतले बढेको छ ।
विपे्रषण आप्रवाह नेपाली रुपियाँमा गत आवको छ महिनाको तुलनामा ४.४ प्रतिशतले बढेको मन्त्रालयको तथ्याङ्क छ । शोधनान्तर स्थिति पनि दुई खर्ब २५ अर्ब रुपियाँले बचतमा देखिन्छ । कुल विदेशी विनिमय सञ्चिति पनि बढेर १६ अर्ब ७६ डलर पुगेको छ ।
सरकारको राजस्व गत आवको छ महिनाको तुलनामा १२.७ प्रतिशतले बढ्दा खर्च १७.८ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ । निक्षेप सङ्कलन भने गत आवको अनुपातमा घटेर ३.३ प्रतिशत रहेको छ । निजी क्षेत्रमा प्रवाह हुने कर्जा भने बढेर दुई खर्ब २८ अर्ब पुगेको छ । कर्जा प्रवाहको गत आवको छ महिनाको चार प्रतिशतको तुलनामा केही बढेर ४.४१ प्रतिशत कायम छ ।
अर्थमन्त्री पौडेलले यसबिचमा सरकारले निजी क्षेत्रको मनोबल बढाउन अधिकतम प्रयत्न गरेको दाबी गर्नुभयो । सरकारले अध्यादेशमार्फत लगानीको वातावरण बनाएको भन्दै निजी क्षेत्रले धन्यवाद दिएको उहाँको भनाइ थियो । “असान्दर्भिक पुराना कानुन खारेज गरेर नयाँ कानुन आएको छ, हामी स्वागत गर्छौं भनेर निजी क्षेत्रका साथीहरूले प्रतिक्रिया दिनुभएको छ,” उहाँले भन्नुभयो, “यसले सरकारप्रति निजी क्षेत्रको विश्वास र मनोबल बढेको छ । यो उत्साहलाई अझ अघि बढाउन चाहन्छ ।” सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित पुराना र असान्दर्भिक कानुनलाई अध्यादेशमार्फत संशोधन गरेर भए पनि लगानीका लागि सकारात्मक वातावरण निर्माण गरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले निर्माण व्यवसायीको कुनै भुक्तानी बाँकी नराखेको पनि दाबी गर्नुभयो । “यो सरकारलाई विगतका वर्षकै भुक्तानीको ठुलो दायित्व थियो,” उहाँले भन्नुभयो, “विधिसम्म रूपमा परेको दाबीका सबै किसिमका दायित्व आधारभूत रूपमा सकिएको छ ।” भुक्तानी दायित्व बाँकी रहेको भनेर जुन ढङ्गले चर्चा भएको थियो अब त्यो पनि आवश्यक नभएको उहाँको भनाइ छ । अध्यादेशमार्फत भएका संशोधनले माग गर्ने नियमावली अथवा कार्यविधि छिटो बनाएर अर्थतन्त्रलाई थप गति दिने सरकारको अबको मुख्य प्राथमिकता रहेको पनि उहाँले बताउनुभयो । गो.अ.