काठमाडौँ । सामान्यतः अनावश्यक लिङ्क क्लिक नगर्नु नै अकाउन्ट सुरक्षित राख्ने सबैभन्दा उपयुक्त तरिका हो । अधिकांश प्रयोगकर्ताको अकाउन्ट फिशिङ लिङ्कमा क्लिक गर्नाले ह्याक हुने भएकाले साइबर सुरक्षा जानकारहरु त्यस्ता लिङ्क क्लिक नगर्न र शेयर नगर्न सुझाव दिन्छन् । त्यस्तै अकाउन्ट सुरक्षित राख्नका लागि पाइरेटेड सफ्टवेयर प्रयोग गर्नु हुँदैन ।
यस्ता सफ्टवेयर कोही न कोहीले आफ्नो स्वार्थका लागि बनाउने भएकाले त्यस्ता सफ्टवेयरमा कुनै न कुनै किसिमको जोखिम हुन्छ । त्यसैगरी ओटीपी कोड शेयर नगर्दा पनि अकाउन्ट जोगाउन सकिन्छ । कुनै पनि बहानामा चिनेकै वा अपरिचित व्यक्तिले तपाईंको डिभाइसमा आएको कोड माग्न सक्छ । तपाईंले त्यस्तो कोड कसैलाई दिनुअघि धेरै सोच विचार पुर्याउनु पर्ने हुन्छ ।
त्यस्तै डिभाइसमा मोड एपीके डाउनलोड गर्दा पनि अकाउन्ट ह्याक हुने जोखिम उत्तिकै हुन्छ । थर्ड पार्टी एप्लिकेसन वा वेबसाइटमा फेसबुक तथा इन्स्टाग्रामका विवरण राख्दा पनि अकाउन्ट ह्याक हुन सक्छ । यस्ता ह्याकिङका घटनाबाट सुरक्षित रहनका लागि तपाईंले सबैभन्दा पहिले टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुपर्ने हुन्छ । जसले गर्दा तपाईंको अकाउन्टको पासवर्ड पाए पनि त्यो व्यक्तिले ओटीपी कोड नपाएसम्म लगइन गर्न सक्दैन ।
फेसबुक अकाउन्ट कसरी सुरक्षित राख्ने सबैभन्दा मुख्य कुरा आफ्नो फेसबुक अकाउन्टमा रिकभरी ईमेल अकाउन्ट राख्नुहोस् । फेसबुकले तपाईंको अकाउन्ट ह्याक भइरहेको छ भने मेसेजमा नभई ईमेलमा सम्पर्क गर्न खोजेको हुन्छ । त्यसैले आफ्नो रिकभरी ईमेल राख्नुहोस् ।
रिकभरी ईमेल वा अन्य ईमेल अकाउन्ट नराखेका अकाउन्ट बिरलै रिकभर हुन्छन् । तसर्थ तपाईंले पछिल्लो समय जुन ईमेल अकाउन्ट प्रयोग गर्नु भएको छ त्यही ईमेल अकाउन्ट प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो हुँदा तपाईंको फेसबुक अकाउन्ट रिकभर हुन सक्छ ।
त्यस्तै अकाउन्ट ह्याक भइसकेको छ भने रिकभर गर्न ईमेलबाट अपिल गर्न सक्नुहुन्छ । सामान्यतः जुन डिभाइसबाट तपाईं फेसबुक प्रयोग गर्नुहुन्थ्यो, त्यही डिभाइसमा अकाउन्ट रिकभर गर्ने थुप्रै विकल्प दिइएको हुन्छ । त्यसमा पनि तपाईंले सधैंजसो प्रयोग गरिरहने वाई-फाई नेटवर्क छ भने त्यसमा पनि फेसबुकले अकाउन्ट रिकभर गर्नका लागि विभिन्न विकल्प दिएको हुन्छ ।
अकाउन्ट रिकभर गर्ने क्रममा कागजात मागेको छ वा भिडिओ पठाउन भनेको छ भने तपाईंको प्रस्ट भिडिओ र अन्य कागजात पठाउनुपर्ने हुन्छ । यदि एक पटक तपाईंले गलत कागजात वा धमिलो भिडिओ पठाउनु भएको छ भने अर्को पटक त्यस्तो विकल्प नदेखिन सक्छ । त्यसैले अकाउन्ट रिकभर गर्दा माथि उल्लेख गरिएका विषय ख्याल गर्नुपर्ने हुन्छ ।