spot_img

Thursday, July 18, 2024

हामीले एउटा संकल्प गरेका छौं, कि आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्छौं-उपमहासचिव प्रदीप ज्ञवाली

गैंडाकोट । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अबका दिनहरुमा नेकपा एमाले आफ्नै खुट्टामा उभिन चाहेको बताउनुभएको छ।

शनिबार नेकपा एमाले गैंडाकोट नगर समितिका नवनिर्वाचित पदाधिकारीहरूको लागि आयोजित शपथ ग्रहण कार्यक्रममा सरिक हुन गैंडाकोट आउनुभएका एमालेका उपमहासचिव ज्ञावलीले कार्यक्रमलाई सम्बोधन गर्दै विगत २०५१ सालमा नेकपा एमाले एउटा छुट्टै उचाइमा पुगेको र प्रतिनिधि सभाको २०५ सिटमध्ये ८८ सिट एक्लैले ल्याएर अल्पमतको सरकार बनाएको उल्लेख गर्नुभयो ।

 

उहाँले त्यतिबेला नेकपा एमालेकोलागि जम्मा १५ सांसदहरू कम भएका कारण अल्पमतको सरकार बनाइएको भएपनि लोकप्रिय बन्दै गएको त्यो सरकारलाई नौ महिनामै ढालिएको स्मरण गराउनुभयो। २०७४ सालको २७५ सदस्य रहेको निर्वाचनमा हामी एक्लैले १२१ सिट जित्यौ। हामीलाई १७ सिट अपुग भयो ।

माओवादी केन्द्रसँग तालमेल र एकता गरेर झण्डै दुईतिहाई पुर्‍याएका थियौँ। तर जब एकता भङ्ग भयो, हामी फेरि अल्पमतमा पर्‍यौं। यसरी इतिहासमा पटकपटक राम्रा काम गर्न खोज्दाखोज्दै बहुमत नभएकै कारणले हामी निर्णायक ठाउँमा पुग्न नसकेकै कारणले हाम्रो निर्णायक यात्रा र विकास र समृद्धिको यात्रा अवरुद्ध हुन पुगेको छ। अब हामी त्यो गल्ती दोहोर्‍याउन चाहँदैनौँ।

नेकपा एमालेलाई अब त्यस्तो गल्ती गर्ने छुट छैन। ‘त्यसकारण हामीले एउटा संकल्प गरेका छौं, कि आगामी निर्वाचनमा नेकपा एमालेलाई एक्लै बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्छौं। र त्यो बहुमत प्राप्त पहिलो शक्तिको बलमा हामीले मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्छौं। मुलुकको समृद्धिको सपना हासिल गर्छौं। त्यसकारण नेकपा एमाले अब आफ्नै खुट्टामा उभिन चाहन्छ’, उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ थियो ।

कतिपयलाई अब प्रचण्डले के गर्नुहुन्छ, माओवादीसँग गठबन्धन टुट्छ कि टुट्दैन जस्ता आशंकाहरू लागेको हुनसक्छ I मलाई लाग्छ गठबन्धन टुट्दैन । किनभने कुनै समय नारायणी जस्तो उर्लँदो भेल जस्तै लोकप्रिय थियो माओवादी पार्टी । त्यतिबेला माओवादी बाहेक अरु कुनै पार्टी नै छैन जस्तो देखिन्थ्यो। हाम्रा कतिपय साथीहरू पनि त्यसबेला अलमलमा पर्नुभएको थियो। । उहाँहरुले पनि विगतको आफ्नो इतिहासदेखि वर्तमान अवस्थासम्म मूल्याङ्कन गर्नुभएकै होला ।

हामीसँगको सहकार्यलाई छोडेर अन्य छवटा दलहरूसँग गठबन्धन गर्दा विगत निर्वाचनमा जम्मा १८ वटा निर्वाचन क्षेत्रमा मात्र उहाँहरुले चुनाव जित्नुभएको थियो। त्यसअघि नेकपा एमालेसँग गरेको तालमेलले ३६ जना सांसद सदस्यहरू जित्नुभएको थियो। कता जाँदा माओवादीलाई लाभ हुन्छ त्यो विगतको इतिहासबाट उहाँले बुझ्नुभएकै छ। त्यसकारण मलाई लाग्छ उहाँहरुले गठबन्धन तोड्नु हुँदैन । र हामी पनि यही सरकारलाई आगामी निर्वाचनसम्म पुर्‍याउनुपर्छ भन्ने कुरामा प्रतिबद्ध छौं – उहाँले स्पष्ट पार्नुभयो ।

 

गैंडाकोट नगरपालिकाको नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदैयो नयाँ निर्वाचित कार्यसमितिले नेकपा एमालेलाई नगरमा बलियो राष्ट्रिय शक्तिको रुपमा बनाउनेमा भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले नेपालको आर्थिक र सामाजिक विकासका लागि नवनिर्वाचित पदाधिकारीहरूको भूमिकाले महत्वपूर्ण भूमिका खेल्ने हुँदा त्यस दिशातर्फ लाग्न पदाधिकारीहरूलाई निर्देशन दिनुभयो ।

गत जेठ २५ गते आयोजित नेकपा एमालेको गैंडाकोट नगर कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन नभएपछि गत असार ६ गते केही पदहरूमा निर्वाचन गराइएको थियो। सोही निर्वाचनबाट निर्वाचित नेतृत्वलाई आज शपथ ग्रहण गराइएको थियो। निर्वाचन संयोजक रमेश काफ्लेले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो। त्यसपछि नवनिर्वाचित नगर अध्यक्ष कृष्ण कडेलले न नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ गराउनुभयो भने समितिको लेखा संयोजक श्रीहरी चालिसीले लेखा समितिका सदस्यहरूलाई शपथ ग्रहण गराउनु भएको थियो।

कार्यक्रममा नेकपा एमालेका नेताहरु देवी ज्ञवाली, तिलक महत, कृष्ण पौडेल, कृष्ण घिमिरे र गोपेन्द्र केशरी न्यौपाने लगायतको सहभागिता थियो। नेकपा एमालेका जिल्ला अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव भीम कँडेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार