spot_img

Tuesday, September 10, 2024

नारायणी सामुदायिक वन गैंडाकोटको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

गैडाकोट । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ७ र ९ को १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको परिसर गैँडाकोट ७ मा शनिवार भएको कार्यक्रमको प्रमुख अतिथि गैडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी रहनुभएको थियो ।
प्रमुख अतिथि अधिकारीले धेरै पहिला गैंडाकोटको डाँडाकाँडा जङ्गल उजाड थियो जब सामुदायिक वनले जङ्गल लियो तब जङ्गल हराभरा भएको बताउनुभयो । उहाँले वन जोगाउँ भन्ने नारालाई आत्मसाथ गर्दै जङ्गलको सुरक्षाको लागि नारायणी वनले राम्रो काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो हरियो बन नेपालको धन भन्ने नारालाई सम्झेर हामी सबै मिलेर वन जोगाउन तर्फ लाग्नु पर्छ ।

नारायणी सामुदायिक वन उपभोक्ता समूहका सचिव उमाकुमारी पाण्डेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनबाट प्राप्त हुने वन पैदावारको न्यायोचित वितरण, वन स्रोतबाट प्राप्त भएको आम्दानीको समूहको कार्यक्षेत्रमा रहनुभएका उपभोक्ताको जीवनस्तरमा सुधार ल्याउन जीविकोपार्जनका कार्यक्रम सञ्चालन, वन संरक्षण र सम्र्बदनका लागि उपभोक्तासँग सहकार्य गर्दै विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले वन संरक्षण सम्वद्र्धन तथा वन विकास कार्यक्रमतर्फ १३ वटा, संस्थागत विकासतर्फ १२ वटा, गरीब विपन्न जीविकोपार्जन सुधार कार्यक्रमतर्फ ४ वटा, वन पैदावर सदुपयोगतर्फ ७ वटा र सामाजिक विकासका ६ वटा कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष नेत्रराज सापकोटाले गतवर्ष १ करोड १९ लाख ७० हजार ६८ रुपैयाँ बराबरको कार्यक्रम गरेको उल्लेख गर्नुभयो । साथै उहाँले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड २७ लाख ६६ हजार ६ सय ८१ रुपैयाँ बराबरको प्रस्तावित बजेट पेश गर्नुभएको थियो । उहाँले हाम्रो वन सम्पूर्ण उपभोक्ताको धन भन्ने नारालाई आत्मसाथ गर्दै अगाडी बढेको बताउनुभयो । आगामी दिनमा अझै उपभोक्तालाई सहज बनाउने र सहकार्य गर्दै अगाडी बढ्ने पनि उहाँको भनाई छ ।

लेखा समितिको प्रतिवेदन लेखा तथा सुपरीवेक्षक संयोजक अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । उहाँले समूहले आम्दानी र खर्चको विवरण पारदर्शी राखेको, वन संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको साथै समूह क्षेत्रभित्र सामाजिक र गरीबी निवारण, जीविकोपार्जनका काम गरेको बताउनुभयो ।

कार्यक्रममा सब डिभिजन वन कार्यालय गैडाकोटका प्रमुख सुर्यसिंह गुरुङले नारायणी सामुदायिक वन उपभोक्ताले विगतमा सामुदायिक वनहरूको संरक्षण व्यवस्थापन र विकासमा रहेर धेरै कामहरू गरेको बताउनुभयो । उहाँले भन्नुभयो सामुदायिक वनहरूमा हुने चोरी कटानी ,वन्यजन्तुको चोरी सिकारी ,बन अतिक्रमणलाई शुन्यमा झार्दै आउनुभएको छ यो एउटा सामुदायिक वनको लागि बस्तीको लागि चुनौतीपूर्ण रहेको समस्यालाई जित्नुभएको छ । उहाँले विगतदेखि धेरै प्रयास गर्दागर्दै पनि वन डडेलो नियन्त्रणमा हामी अझै पछाडि परेकाले आगामी दिनमा वन डडेललाई पनि शून्यमा झार्नुहुनेछ भन्ने आशा रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै सस्थाको सस्थापक सल्लाहकार संयोजक तथा निर्वाचन समिति संयोजक नारायण पौडेलले ४६ ,४७ सालताका उजाड डाँडालाई हराभरा बनाउने र आफ्नो उपभोक्ताहरुलाई सुलभ र सस्तोमा काठ उपलब्ध गराउने र वनका जडीबुटीहरु जङ्गली जनावरको संरक्षण गर्ने उद्देश्यका साथ नारायणी सामुदायिक वनको स्थापना भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो संस्थापक समिति बनाउन पनि अग्रणी भूमिका खेलेको ,पाँचौं नेतृत्व चयनमा पनि जुन हाम्रो समितिलाई जिम्मेवारी दिनु भएकोमा त्यसको लागि हामी आभारी रहेका छौ ।

कार्यक्रममा बोल्दै समाजसेवी व्यक्तित्व गुरुप्रसाद कँडेलले जल जङ्गल ,जमिन बिना मान्छेको अस्तित्व रहँदैन त्यसैले बन जंगल जोगाउनपर्ने बताउनुभयो । मान्छे मात्रै जोगिएर हुँदैन त्यहाँ भएका प्राणीलाई पनि जोगाउनुपर्ने उहाँले भन्नुभयो । वन खाली मान्छेको लागि मात्र होइन, असलीमा जङ्गली जनावरको पनि जङ्गल हो, त्यसैले अब हामीले १०÷ १५ हजार फलफुलका बोटबिरुवा जहाँ खाली छ त्यहाँ लगाउनुपर्छ र उनीहरुलाई पनि खान बस्न को लागि वातावरण मिलाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै वनका अध्यक्ष दिनानाथ त्रिपाठीले समूहमा रहेका दुईवटा भवनलाई कम्पाउन्ड तारबार आवश्यक पर्ने वस्तुहरू खरिद गरी व्यवस्थित गरेको बताउनुभयो । उहाँले गरिब विपन्न परिवारलाई घर निर्माण ,घर मर्मत, औषधि उपचार ,मृत्यु भएका बखत राहत वितरण, विद्यालय सहयोग जस्ता थुप्रै कार्यहरू वनले गरेको बताउनुभयो । उहाँले सामाजिक कार्य सञ्चालन गर्ने क्रममा उज्यालो टोल मठमन्दिर ,सघंसंस्था सहयोग, औषधि उपचार सास्कृतिक जगेर्ना जस्ता कामहरु गरेको बताउनुभयो  । उहाँले भन्नुभयो हामी कहीँ कतै हतोत्साहित नभई यस समूहको स्तर उन्नति विकासका निम्ति वन विकास अन्तर्गत समूहमा रहेका सिमसार ताल, तालतलैयाहरू निर्माण कार्यका लागि अनुदान रकम प्राप्त गरी ताल निर्माण गर्ने काम अति महत्वपूर्णका साथ गरेका छौ ।

कार्यक्रममा गैंडाकोट नगरपालिका वार्ड नं ७ का वडाध्यक्ष होमनाथ सापकोटा, सामुदायिक वन स्थानीय महासङ्घको अध्यक्ष निर्मला कँडेल , नन्दन सामुदायिक वनका अध्यक्ष हरिमाया अधिकारी ,उपभोक्ताका तर्फबाट थुन्सी बजार टोल विकास संस्थाका अध्यक्ष देवीप्रसाद पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गैडाकोट नगरपालिकाका संस्थापक नगरप्रमुख छत्रराज पौडेल , वन तथा वातावरण संरक्षण संयोजक तथा वार्ड नं २ का वडाध्यक्ष प्रकाश सापकोटा, वडा नम्बर ९ का वडाअध्यक्ष धामनाथ सापकोटा ,विधायन मसौदा समिति संयोजक ज्ञानप्रसाद खनाल ,नारायणी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरी चापागाईं, अभिनन्दित व्यक्तित्वहरू लक्ष्मण त्रिपाठी, तेजेन्द्र सुवेदी ,बालुराम कुमाल ,वडा सदस्य तारापति त्रिपाठी ,ममता पाण्डे ,रणबहादुर दरै, मुकुन्दसेन सामुदायिक वनको अध्यक्ष तुलसी सुवेदी ,जय श्री सामुदायिक वनको अध्यक्ष भीमबहादुर कुमाल, , सहयात्री साकोषको अध्यक्ष भीमप्रसाद सापकोटा लगायत बुद्धिजीवी ,समाजसेवी व्यक्तित्व ,नारायणी सामुदायिक वन उपभोक्ता समूहको सदस्यहरूको उपस्थिति रहेको थियो ।

सामुदायिक वनमा वर्षभरि उत्कृष्ट काम गरेबापत १५ जना कार्यसमितिहरू मध्ये एकजनालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा सदस्य बिनु कुमाल रहनुभएको थियो साथै कार्यक्रममा सानासाना नानीहरूको नृत्यसँगै वनको संरक्षण र विकासमा सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण पनि गरिएको कार्यालय सचिव हरि सापकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य सस्थाको उपाध्यक्ष बेदप्रसाद चालिसेले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव उमाकुमारी पाण्डेले गर्नुभएको थियो ।
नारायणी सामुदायिक वन ४ सय ६६.०२ हेक्टर क्षेत्रफलमा फैलिएकोे छ । वनमा ११ सय ४० उपभोक्ता सदस्य रहेका छन् ।
यसैबीच नारायणी सामुदायिक बन उपभोक्ता समूह गैंडाकोटको पाँचौ नेतृत्व चयन कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिदैँछ । नयाँ कार्यसमिति चयनका लागि नारायण पौडेल संयोजक, गैँडाकोट ९ का प्रेमप्रसाद सापकोटा र गैँडाकोट ७ का प्रेमप्रसाद सापकोटा रहेको निर्वाचन समिति चयन गरिएको छ । समितिले निर्वाचन कार्यक्रम अघि बढाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार