spot_img

Thursday, July 18, 2024

आज असार १५ ,मानो रोपेर मुरी उब्जाउने मुख्य दिन/ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

 असार १५ ,काठमाडौँ । आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।

सरकारले असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम चितवनमा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा चितवनको बछौलीमा हुने कृषि विभागका रोपाइँ महोत्सव हुने महानिर्देशक डा. नरहरिप्रसाद घिमिरे बताउनुभयो । चितवनमा डेढ बिघामा धान रोपाइँ गरेर यो दिवस मनाउन लागेको कृषिमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो ।

पूरै डेढ बिघामा धान रोपाइँ सकेर मात्र कार्यक्रम सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा धानमा आत्मनिर्भर हुने लक्ष्य सरकारले लिएको छ, सोही अनुसार धान उत्पादनमा वृद्धि गर्न अभियान चलाउने तयारी भइरहेको छ ।” हाल ५७ लाख मेट्रिक धान उत्पादन भइरहेको छ, आत्मनिर्भर हुनका लागि तीन लाख मेट्रिक टन धानको अभाव रहेको र अगामी आर्थिक वर्षमा त्यो तीन लाख मेट्रिक टन जसरी पनि पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । त्यसका लागि उन्नत जातको धान लगाउने तथा चैत धानमा जोड दिने तयारी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुन धान बढी फल्छ, बढी उत्पादन दिन्छ, त्यही  धानको बिउ व्यवस्था गरेर खेती लगाउने व्यवस्था हुन्छ । त्यसबाहेक चैते धान उत्पादनमा जोड दिएपछि अगामी आर्थिक वर्षमै आत्मनिर्भर हुन्छौँ ।” उहाँका अनुसार धान उत्पादन वृद्धिका लागि सुक्खा सहने, पानी सहने जातका बिउ विकास गरिएको छ । त्यसका साथै कम समयमा फल्ने र पाक्ने जातका धानको बिउको समय व्यवस्था भइरहेको छ । मसिनो र बास्नादार धान उत्पादनमा समेत जोड दिने बताउनुभयो ।

नार्कले चैते धानसम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको हो । २०७४ सालमा नार्कले चैतमा किसानलाई चैते–५ जातको धान लगाउन सकिने सिफारिस गरेको थियो । त्यही बेलादेखि चैते धानमा सरकारले लगानी गर्न सुरु गरेको देखिन्छ ।

चैते–५ जातको धानको दाना मसिनो, धेरै फल्ने, रोग र किरा कम लाग्ने भनेर प्रमाणित गरेपछि किसानले यो धान लगाउन सुरु गरेका थिए । अहिले किरा कम लाग्ने, मोटो दाना भएको चैते–४ जातको धान पनि आइसकेको छ । यो जात पनि किसानले मन पराउन थालेका छन् ।

बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउने गरिएकामा अहिले नार्कले निकालेको नयाँ जात कम सिँचाइ हुने ठाउँमा पनि लगाउन थालिएको छ । हाल हर्दिनाथ–१, चैते–३, चैते–२, चैते–४, चैते–५, चैते–६ जातका धान लगाउने गरिएको छ । हाल नेपालमा एक लाख ५० हजार हेक्टरमा चैते धान खेती हुन्छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार