spot_img

Thursday, July 18, 2024

सोमबारदेखि मनसुन देशैभर फैलियो

असार ११,काठमाडौँ । सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । गत वर्ष जस्तै यस वर्ष पनि मनसुन देशभर फैलन १५ दिन लागेको छ ।

यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन देशभर फैलिए पनि यो कमजोर प्रकृतिको छ ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले मनसुन बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते (१० जुन २०२४) कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको थियो ।

साथै असार ६ गते कोशी प्रदेशका बाँकी भूभाग, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू भागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको महाशाखाले उल्लेख गरेको छ ।

मनसुनी प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमित रुपमा मनसुन बुलेटिन जारी गर्ने जनाएको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू क्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभावहरु देखिने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार