spot_img

Sunday, July 14, 2024

वाणिज्य बैङ्कहरूले असार महिनाका लागि ब्याजदर घटाए

असार १, काठमाडौँ । वाणिज्य बैङ्कहरूले असार महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् ।

हाल सञ्चालनमा रहेका २० मध्ये ११ वटा वाणिज्य बैङ्कले ब्याजदर घटाएका छन् भने तीन बैङ्कले बढाएका छन् । यता छ बैङ्कले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैङ्कहरूले औसतमा ०.१२ प्रतिशत विन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

जेठ महिनाको तुलनामा असारमा ब्याजदर बढाउने बैङ्कमा हिमालयन, माछापुच्छरे र नबिल बैङ्क रहेका छन् । यता प्रभु, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा र नेपाल बैङ्कले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर असार महिनाका लागि ६.८७ प्रतिशत कायम भएको छ । जेठमा औसत ब्याजदर सात प्रतिशत रहेको छ । औसतमा हेर्दा बैङ्कहरूको ब्याजदर ०.१४ विन्दुले घटको छ ।

वाणिज्य बैङ्कहरूले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार बैङ्कहरूको ब्याजदर जेठ महिनाको तुलनामा सामान्य घटेको छ ।

असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा हिमालयन बैङ्क रहेको छ । हिमालयनले व्यक्तिगत मुद्दतीमा ८.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै एनएमबी र एनआइसी एसिया बैङ्कले हिमालयनलाई पछ्याउँदै ७.६९ प्रतिशत ब्याज दिने भएका छन् । त्यसै गरी प्रभु र माछापुच्छरे बैङ्कले ७.५० प्रतिशत ब्याज दिने भएका छन् । सर्वाधिक कम ब्याज दिनेमा कृषि विकास बैङ्क रहेको छ । कृषि विकास बैङ्कले सबैभन्दा कम व्यक्तिगत मुद्दती निक्षेपमा ५.६६ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याजदर तोकेको छ । जेठ महिनामा पनि बैङ्कले सोही दरमा ब्याज दिइरहेको थियो ।

ब्याजदर घटाउनेमध्येमा ग्लोबल आइएमई बैङ्कले सर्वाधिक एक प्रतिशत ब्याजदर घटाएको छ । जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको बैङ्कको ब्याजदर असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैङ्कले बैङ्कलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारका रूपमा सोही वर्गका बैङ्कले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्न सक्ने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार