spot_img

Wednesday, September 11, 2024

नारायणगढको हङ्ग्री टम रेस्ट्रोलाई एक लाख जरिवाना, एक हप्ताभित्र किचनमा सुधार गर्न निर्देशन

चितवन  जेष्ठ १७, । रेस्टुरेन्टको खाजा खाएर बिरामी भएपछि सिल गरिएको नारायणगढको हङ्ग्री टम रेस्ट्रो एण्ड बारलाई एक लाख रूपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक लाख रूपैयाँ जरिवाना तिराएको हो । नारायणगढको पुलचोकस्थित उक्त रेस्टुरेन्टको खाजा खाएर नौ जनाभन्दा बढी बिरामी भई उपचारका लागि अस्पताल भर्ना हुनु परेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार रेस्टुरेन्ट सञ्चालकलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ । ‘हङ्ग्री टम रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐनअनुसार एक लाख रूपैयाँ जरिवाना तोकिएको छ’, उनले भने । त्यस्तै, रेस्टुुरेन्टको खाजा खाएर बिरामी भएकाहरुलाई उपचार गर्दा लागेको खर्च दिने विषयमा पनि रेस्टुरेन्ट सञ्चालकसँग कबुलियतनामा भएको छ ।

खाजा खाएर बिरामी भएको उजुरी प्राप्त भएपछि संयुक्त अनुगमन टोलीले सोमबार साँझ रेस्टुरेन्टको अनुगमन गरी किचन सिल गरेको थियो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बुधबार रेस्टुरेन्ट सञ्चालक विमल रिजालसँग बयान लिएका थिए । बयान लिएपछि रेस्टुरेन्टको किचन एक हप्ताभित्र सुधार गर्न निर्देशन दिएको प्रजिअ थापाले जानकारी दिए । ‘सात दिनभित्र किचनमा सुधार गरी पूर्वाधार तयार गर्न निर्देशन भएको छ । त्यसपछि हामीले अनुगमन गरी सुधार भएको पाइए रेस्टुरेन्ट सञ्चालन गर्न आदेश दिन्छौँ’, उनले भने ।

रेस्टुरेन्टको सोमबार अनुगमन गर्दा किचनमा प्रयोग भइरहेको तेल न्यून गुणस्तरको र फ्रिजभित्रको चिस्यान मापदण्डअनुसार नभएको पाइएको थियो । त्यस्तै, किचनभित्रको सरसफाइ र पानी ट्याङ्कीको सफाइ सन्तोषजनक नभएको भेटिएको थियो । ‘रेस्टुरेन्ट सञ्चालकले सात दिनभित्र सुधार गर्छु र पीडित पक्षलाई बिलअनुसारको क्षतिपूर्ति दिन्छु भन्नुभएको छ । त्यसको कबुलियतनामा गराइएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार