spot_img

Monday, June 17, 2024

संसदीय छानबिन समिति गठन गर्ने आफ्नो पार्टीको अडान कायम रहेको -महामन्त्री गगनकुमार थापा

जेठ ७ ,काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीमा भएको आर्थिक अनियमितता, अपचलन र बचत रकम ठगीका सन्दर्भ संसदीय छानबिन समिति गठन गर्ने आफ्नो पार्टीको अडान कायम रहेको बताउनुभएको छ ।

उहाँले आइतबार पत्रकार सम्मेलन गरी काँग्रेसले उठाएको सहकारीको विषय बचतकर्ताको पाँच खर्ब रुपियाँभन्दा बढी रकम भएको अपचलन र ७३ लाख बचतकर्ताको जीवनसँग जोडिएको विषय रहेको बताउनुभयो । उहाँले शक्तिशाली पदमा रहेका व्यक्ति सहकारी ठगीमा संलग्न रहेकाले तिनलाई कारबाही गर्नु पर्छ भन्ने अडानमा काँग्रेस रहेको बताउनुभयो ।

महामन्त्री थापाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा उठेका प्रश्नमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुने र त्यसको कार्यादेशमा उहाँको नाम समावेश हुने प्रस्ट पार्नुभयो । उहाँले संसदीय छानबिन समिति चोख्याउने नभई, सहकारीबाट ठगिएका नागरिकको भविष्यसँग जोडिएको विषय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सांसद रवि लामिछानेको विषयमा छानबिन गरौँ भनेको होइन । उहाँ अहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँको काममा प्रश्न उठेकाले समिति गठन गर्नुपरेको हो । म दोषी देखिए मैले कारबाही भोग्ने हो, तपाईं दोषी देखिए तपाईंले सजाय भोग्ने हो ।”

महामन्त्री थापाले विभिन्न विषयमा नेतामाथि लागेका आरोपबाट फाइल खोल्न, समिति बनाउन गृहमन्त्री र संसद्मै प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गृहमन्त्रीले छानबिन समिति बनाउने हो । मेरो अनुसन्धान गर्ने भए तेरो पनि गर्दिऊँ ? भन्ने होइन । गल्ती गरेको छ भने निर्णय गर्ने हो, अनुसन्धान गर्ने हो, कारबाही गर्ने हो, फैसला गराउने हो ।”

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार