spot_img

Monday, June 17, 2024

चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा

जेठ ५, काठमाडौँ । चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका-६ देवनगरमा निर्माण गरिएको ३३-११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ-देवनगर ३३ केभी प्रसारण लाइन उदघाटन गरिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा सबस्टेसन तथा प्रसारण लाइनको उदघाटन गर्नुभएको उपकार्यकारी निर्देशक मनोज सिल्वालले जानकारी दिनुभयो । उदघाटन कार्यक्रममा प्रमुख दाहालले विद्युत आपूर्तिमा रहेको न्यू भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको, पङ्खा नचलेको भन्ने उपभोक्ताबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन हुने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै प्रमुख दाहालले स्थानीयको माग बमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्ने कार्य गर्न आग्रह गर्नुभयो । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन सञ्लनमा आएसँगै महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताउनुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रजङ्ग थापाले सबस्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा महानगरपालिकामा हुने विद्युत मागमा प्रक्षेपण गरी २४ सैँ घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताउनुभयो ।

महानगर क्षेत्रमा भइरहेको तिव्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । प्रााधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सिलवालले विद्युत माग बमोजिम आपूर्ति दिन नसकेर त्यस क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको देवनगर सबस्टेसन बनेपछि अन्त्य भएको उल्लेख गर्नुभयो । उहाँले अब त्यस क्षेत्रमा माग बमोजिम गुणस्तरीय र पर्याप्त विद्युत दिन सकिने बताउनुभयो ।

देवनगर सबस्टेसनबाट महानगरपालिकाका वडा नम्बर ५, ६, ८, ९, १३, १४, १५, २२ र २३ मा विद्युत आपूर्ति दिइएको छ । सबस्टेसनमा २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । त्यसबाट करिब २२ मेगावाट विद्युत आपूर्ति गर्न सकिने छ । वडा नम्बर ११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी, सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देवनगर सबस्टेसनसम्म पुर्याइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म झण्डै नौ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीयरुपमा विद्युत आपूर्तिका लागि ११ केभीका चार फिडर निकालिएका छन् ।

देवनगर सबस्टेसनबाट विद्युत आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फुलबारी, गितानगर, पटिहानी, सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित भएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज-९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो ।

गोन्द्राङ-देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत १० करोड रहेको आयोजना निर्देशक-संयोजक अच्युत घिमिरेले जानकारी दिनुभयो । सबस्टेसन तयार भए पनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको थियो । कोभिड-१९को महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानु पर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माणमा केही ढिलाइ भएको हो । रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार